समाज

चन्दननाथ मन्दिरमा ५२ हाते लिङ्गो

जुम्ला– कर्णाली प्रदेशकै प्रशिद्ध धार्मिक पर्यटन स्थल जुम्लाको चन्दननाथ मन्दिरमा ५२ हातको लिङ्गो  र ५२ हातको ध्वजा र नेजा हालिएको  छ।

चन्द्ननाथ मन्दिरमा लिङ्गो खडा गरिसकेपछि मात्रै कर्णाली क्षेत्रमा घटास्थापना गर्ने प्रचलन छ।  यो मन्दिरमा वर्षेनी घटास्थापनाको दिनमा पुरानो लिंङ्गो निकालेर नयाँ लिंङ्गो खडा गर्ने चलन छ।

एक वर्षमा ५२ हप्ता हुने भएकोले चन्दननाथ मन्दिरमा ५२ हातको लिंङ्गो र ५२ हातकै नेजा राख्ने चलन रहेको सस्कृतिविद रमानन्द आचार्यले जानकारी दिए। उनका अनुसार घटास्थापनाकै दिन  भैरवनाथ मन्दिरमा ४८ हातको लिङ्गो र ४८ हातकै ध्वजा र नेजा राखिएको छ। 

सस्कृतिविद आचार्यले भने,‘मन्दिरमा विजय स्तम्भसहित २ वटा लिङ्गो ठड्याइन्छ। नेपाली सेना, नेपाल प्रहरी, निजामति कर्मचारी र सर्वसाधारणको सहभागितामा लिङ्गो ठड्याइन्छ । 

चन्दन्नाथ मन्दिरको लिंङ्गो ठडयाई सकेपछि घरघरमा जमरा राखिन्छ। बिहान ७ बजेपछि पुराना लिंगा ढाल्ने र नयाँ लिंगा ठड्याइने काम सुरु भएको थियो । यसलाई स्थानीय भाषामा लिङ्गा खडा गर्ने भनिन्छ ।
यस दिन नवदुर्गामध्ये शैलपुत्रीको पूजा आराधाना गरिन्छ।

आजकै दिन जुम्लाबासीले नयाँ अन्न अर्थात् नुवागी खाने गर्छन् । प्रचलनअनुसार धान पनि आजकै दिनदेखि काट्न सुरु हुन्छ। विश्वकै अग्लो स्थानमा फल्ने मार्सीधान पनि चन्दननाथ मन्दिरमा सिख चढाएपछि घरका परिवारका सबै सदस्य एकै ठाउँमा जम्मा भएर नुवागी खाने प्रचलन रहेको स्थानीय चित्रलाल श्रेष्ठको भनाईछ ।   

 

प्रकाशित: २४ आश्विन २०७५ ०७:०५ बुधबार

कर्णाली_प्रदेश चन्दननाथ_मन्दिर लिङ्गो