समाज

खोटाङमा यलम्बर पार्क बनाइने

खोटाङ – खोटाङको बुइपामा यलम्बरको सालिकसहितको पार्क निर्माण गरिने भएको छ । तीस रोपनीभन्दा बढी सरकारी जग्गामा यलम्बरको ६५ फिट अग्लो प्रतिमा राख्ने गरी पार्क बनाउन लागिएको वडाध्यक्ष दिनेश राईले बताए । किरात समुदायको इतिहासलाई संरक्षण गर्दै गाउँको पर्यटन प्रवद्र्धनका लागि यलम्बर पार्क निर्माण गर्न लागिएको उनले जानकारी दिए।

पार्क निर्माणका लागि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७५–०७६ मा ७२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । शुल्क लिइने यलम्बर पार्कभित्र घुमफिर गर्ने ठाउँ, विश्राम गर्ने फलामे कुर्सी, निःशुल्क वाइफाई, कफी तथा फास्टफुडलगायतका सेवा सुविधा रहने बताइएको छ । केही समयपछि ठेक्का सम्झौता गर्ने तयारी गरिएको पार्क चोभारको मञ्जुश्री पार्क शैलीमा निर्माण गरिने वडाध्यक्ष राईले जानकारी दिए।

यलम्बरको सालिक निर्माण र स्थापनाका लागि भने छुट्टै बजेट व्यवस्था गर्ने तयारी गरिएको छ । सालिक स्थापनाका लागि केही दिनअघि प्रारम्भिक सर्वे गरिएकाले डिपिआरको काम अघि बढाइने वडा कार्यालयले जनाएको छ । अब बन्ने सालिक यलम्बरको अहिलेसम्मकै सबैभन्दा अग्लो र ठूलो सालिक हुने दाबी गरिएको छ।

दलित संघलाई जग्गा दान
खोटाङ – खोटाङमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघलाई कार्यालय भवन निर्माणका लागि स्थानीय समाजसेवीले जग्गा दान गरेका छन् । संघको गाउँपालिका स्तरको कार्यालय भवन निर्माणका लागि दिप्रुङ चुइचुम्मा गाउँपालिका–२, डाँडागाउँ ओख्रेका चक्रबहादुर खत्री र बाबुराम खत्रीले ४ आना १ दाम जग्गा निःशुल्क दिएका हुन्।

यस्तै, खोटेहाङ गाउँपालिका–२, वाप्लुखाकी शुभमाया विश्वकर्माले संघको कार्यालय भवन बनाउन ८ आना जग्गा दान गरेको संघले जनाएको छ । दाताहरूले जिल्ला मालपोत कार्यालयमा गएर संघको नाममा जग्गा पास गरिसकेको संघका खोटाङ अध्यक्ष चर्चबहादुर विश्वकर्माले जानकारी दिए । प्राप्त भएको जग्गामा यसै वर्षभित्र भवन निर्माण गरिने उनले बताए।

प्रकाशित: २४ आश्विन २०७५ ०१:४५ बुधबार

यलम्बर_पार्क खोटाङ