समाज

मंगलबार पनि कटारी बजार बन्द

उदयपुर – बजार अनुगमनको क्रममा प्रशासनले ज्यादती गरेको भन्दै उदयपुर उद्योग बाणिज्य संघले कटारी बजार मंगलबार (आज) पनि बन्द गराएको छ।  जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र तथा माथिल्लो सगरमाथाकोद्वार मानिने कटारी दुई दिनयता बन्द हुँदा नजिकिएको दसैंका लागि आवश्यक सामग्री नपाएर उपभोक्ताले सास्ती खेपिरहेका छन्।

अनुगमनको नाममा प्रशासन र प्रहरी यसरी नै हावी हुने भए अनिश्चितकालीन बन्द गराउने व्यापारीले चेतावनी दिएका छन्। उद्योग वाणिज्य संघले मंगलबार थप आन्दोलन चर्काउन कटारीका विभिन्न ९ ठाउँमा संघर्ष समितिका संयोजक तोकेर बजार बन्दलाई थप कडाई गर्ने निर्णय गरेको संघका अध्यक्ष पुष्कर खड्काले बताए। व्यापारीहरूले विहानैदेखि बजारका सबैखाले पसल ठप्प पारेका छन्। उनीहरूले १०ः०० बजे नै कटारी नगरपालिका पुगेर मेयर ज्ञानेन्द्र श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका छन्।

ज्ञापनपत्रमा प्रशासनिक ज्यादतीविरुद्ध सचेत गराउँदै व्यापारीमाथि जथाभावी नगर्न आग्रह गरिएको छ। बजार बन्दका कारण माथिल्लो सगरमाथाका ओखलढुंगा, खोटाङ र सोलुखुम्बुतर्फ जाने सामग्री ढुवानी हुन सकेको छैन। दैनिक ५० लाखभन्दा बढीका उपभोग्य सामग्री कटारीबाट माथिल्लो सगरमाथाका बजारहरु निर्यात हुने गरेकोमा बन्दका कारण सबै ठप्प भएको स्थानीय बताउँछन्। त्यसैगरी जिल्लाको पशिचमी भेगका पहाडी बजारहरूमा पनि सामाग्री जान रोकिएको छ।

साविकका लेखानी, हर्देनी, लिम्पाटार, ओख्ले, रुपाटार, ठानागाउँ, इनामे, सोरुङछविसे लगायतका स्थानीय बजारमा जाने सम्पूर्ण उपभोग्य सामग्रीको मुख्य बजार कटारी नै हो। तर, २ दिनदेखि बन्द भएका कारण नजिकिएको दसैं तिहारका लागि चाहिने सामान लिन कटारी झरेका व्यापारी रित्तो हात फर्कनुपरेको इनामेका गौरव राईले बताए। दसैं सामान लिन आएका आफुजस्तै दर्जनौं व्यापारी बन्दका कारण डेरा जमाएर बस्नुपरेको उनको भनाई छ।

प्रकाशित: २३ आश्विन २०७५ ०७:१६ मंगलबार

कटारी_बजार उदयपुर बन्द उद्योग_बाणिज्य_संघ