समाज

देशले चिन्न नसकेको शे–फोक्सुण्डो ताल

डोल्पा – सफा, स्वच्छ, सुन्दर शान्त र निर्मल पानी कान्जिरोवा हिमालको काखैमा रहेको डोल्पाको लागि प्रकृतिको अलौकिक उपहार हो शे–फोक्सुण्डो ताल। झट्ट हेर्दा कहिले गाडा निलो त कहिले फिक्का र हरियो देखिने छिनछिनमा आफ्नो रुप बदली रहने शे–फोक्सुण्डो तालको पानीले त्यहाँ पुग्ने जो कोही पर्यटक सुन्दर प्रकृतिको उपहार प्रति मोहित भएर रमाउँछन।

कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने रिग्मो गाउँमा रहेको शे–फोक्सुण्डो ताल पर्यटकहरूको लागि राम्रो गन्तब्य बन्दै आएको छ। भौगालिक विकटता प्राकृतिक सुन्दरता जैविक विविधताले गर्दा पर्यटकलाई आफूतिर आर्कर्षित गरिरहेको छ डोल्पाले। समुद्री सतहबाट ३ हजार ९ सय ९० मिटर उचाइमा रहेको शे–फोक्सुण्डो तालको गहिराई ६ सय ५० मिटर छ। ४.८ किलोमिटर लम्बाई र १.८ किलोमिटर चौडाई क्षेत्रफलमा फैलिएको यो ताल नेपालकै गहिरो तालको रुपमा मानिन्छ।

डोल्पाको शे–फोक्सुण्डो ताल मात्र होइन शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, त्रिपुरासुन्दरी नगरपालिकामा अवस्थित श्रीबाला त्रिपुरासुन्दरी भगवतीको मन्दिर र शे–गुम्बा लगायतले पर्यटकलाई थप आकर्षित गर्दछ। डोल्पा दुर्गम र राज्यको दुरदराजमा भएपनि यहाँको जैविक विविधता, प्राकृतिक सौन्दर्यता र हिमाली ताल तलैया पर्यटकक आकर्षकको केन्द्रबिन्दु मानिन्छ। भौगोलिक रुपमा निकै विकटता भएपनि प्राकृतिक सुन्दरताले पदयात्रामा रमाउने पर्यटकलाई शे–फोक्सुण्डो तालले डोल्पा तिर तान्ने गरेको पाइन्छ।

चारैतिर पहाडै पहाडले घेरिएको खोच भित्र रहेको शे–फोक्सुण्डो ताल र तालसँगै रहेको थामछुलिङ्ग गुम्बा लगायत ताल वरपरको अलौकिक सुन्दरताले पर्यटकहरूको मन जित्ने गरेको छ। क्षेत्रफलको आधारमा नेपालकै सबैभन्दा ठुलो जिल्ला डोल्पालाई तल्लो डोल्पा र माथिल्लो डोल्पा भनेर प्रकृतिले नै दुई भागमा विभाजन गरी दिएको छ। नेपाल सरकारले उपल्लो डोल्पा भ्रमणमा जाने विदेशी पर्यटकलाई १० दिनको ५ सय डलर शुल्क तोकेको छ। तल्लो डोल्पाको लागि प्रति हप्तामा १० डलरका दरले शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ।

शे–फोक्सुण्डो ताल हेर्न वर्षनी २ हजार ५ सयको हाराहारीमा विदेशी पर्यटकहरू डोल्पा आउने गर्दछन। प्रकृति प्रदत्त सुन्दरता र अलौकिताले स्वदेशी तथा विदेशी पर्यटकहरूको रोजाईमा फोक्सुण्डो ताल पर्ने गरेपनि तालमा र ताल पुग्नको लागि आवश्यक पूर्वाधारको विकास हुन नसक्दा चाहँदा चाँहदै पनि कतिपय पर्यटकहरू फोक्सुण्डो नपुपी फर्कने गर्छन।

डोल्पा पुग्ने पर्यटकहरूको लागि सदरमुकाम दुनै, जुफाल र त्रिपुराकोट बाहेक जिल्लाका दुरदराजका गाउँहरूमा बास बस्न र खानको लागि होटलहरूको ब्यवस्था गरिएको छैन्। तर पनि डोल्पाका पर्यटकीय क्षेत्र र आर्कषणका धरोहर रहेका गाउँबस्तीमा होमस्टेको रुपमा बास बस्ने सुबिधा भएको छ। होमस्टेमा स्थानीयले उत्पादन गरेको अर्गानीक खानाको रुपमा चिया, उवा, गहुँको सातु, उसिनेको आलु र फापरको रोटी खादा भने पर्यटकहरू रमाउने गरेका छन्।

प्राकृतिक सुन्दरता बोकेका शे–फोक्सुण्डो, त्रिपुरासुन्दरी मन्दिर, जगदुला ताल, विश्वकै उच्च मानवबस्ती धो–ताक्सी उपत्यका र राष्ट्रिय निकुञ्ज लगायत बहुमुल्य जडिबुटी यार्सागुम्बाले गर्दा पनि पर्यटकहरू डोल्पा पुग्ने गर्छन। प्राकृतिक सुन्दरताले भरिपूर्ण मानिएको फोक्सुण्डो जति मनमोहक भएपनि पर्यटकहरूको लागि त्यहाँ पुग्न भने सहज छैन।

सामुन्द्रिक किनारबाट ९ सय ९० मिटर उचाईमा रहेको फोक्सुण्डो पुग्न जिल्ला सदरमुकाम दुनै बजारबाट २ दिनको पैदल यात्रा गर्नुपर्छ। डोल्पामा शे– फोक्सुण्डो लगायतका दर्जनौ पर्यटकीय सम्पदाहरू भएपनि पूर्वाधार निमार्णको अभावमा ओझेलमा छन्। तालको संरक्षण, सम्बर्धन र प्रबर्दधनको लागि सरकारले ध्यान दिन नसक्दा र चिन्न नसकेका कारण प्राकृतिक सुन्दरताले सम्पन्न बैभवपूर्ण इतिहास रचेरपनि ओझेलमा परिरहेको छ।

प्रकाशित: २३ आश्विन २०७५ ०७:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App