समाज

कान्ति अस्पतालमा बजेट अभाव

काठमाडौं - कान्तिबाल अस्पतालले दशैंपछि आफ्ना कर्मचारीलाई तलब खुवाउन नसक्ने भएको छ। कान्तिबाल अस्पतालका निर्देशक गणेश राईले नागरिकसँग यस्तो चिन्ता व्यक्त गरेका हुन् । उनले भने, ‘दशैंसम्मको तलब त खुवाउन सकिन्छ, कात्तिकदेखि कर्मचारीलाई तलब दिन सकिने अवस्था छैन।’

निर्देशक राईका अनुसार सरकारले केही नयाँ शीर्षकमा भत्ता वृद्धि गरेको, चालू आर्थिक वर्षमा गत वर्षभन्दा कम बजेट विनियोजन गरेको र वर्षेनी हिउँदमा बिरामी घट्ने कारण बजेट समायोजन हुन नसकेको हो । सरकारले यो वर्ष २ करोड कम गरी बजेट विनियोजन गरेको थियो । गत वर्ष २१ करोड २० लाख रुपैयाँ सरकारले कान्तिबाल अस्पताललाई विनियोजन गरेकोमा यो वर्ष १९ करोड २० लाख रुपैयाँ मात्र विनियोजन गरेको छ । मासिक १ करोड रुपैयाँ तलब खुवाउनका लागि मात्र चाहिन्छ।

अस्पतालमा ५५ प्रतिशत विकास समितितर्फका कर्मचारी छन् र उनीहरुलाई अस्पतालकै आम्दानीबाट तलब उपलब्ध गराउनुपर्छ भने ४५ प्रतिशत कर्मचारीलाई सरकारले तलब उपलब्ध गराउने गरेको छ।

अस्पतालले सेवा सुविधामा कुनै पनि शुल्क वृद्धि गरेको छैन । देशभरबाट आउने विपन्न बिरामी, क्यान्सरका बिरामीमध्ये सबै जसोलाई निःशुल्क सेवा दिनुपर्ने बाध्यताले अस्पतालको आम्दानी बढ्न सकेको छैन । ‘सरकारी अस्पतालमा सेवा लिन आउने बिरामी विपन्न नै हुन्छन् । कसरी वर्षेनी सेवा शुल्क वृद्धि गर्ने ?’ डा.राईले भने । योबाहेक यस्ता बिरामी मन्त्री तथा विभिन्न पार्टीका नेताको भनसुनमा आएकाले धेरैलाई निःशुल्क गर्नुपर्ने बाध्यता छ । विपन्न बिरामीलाई सेवा दिने क्रममै मासिक २० लाख आम्दानी हुनु पर्नेमा २ लाख मात्र आम्दानी हुन्छ । यही आम्दानीबाट अस्पतालको उपकरण मर्मत, ल्याव तथा एक्सरे शाखामा आवश्यक सामग्री किन्नुपर्ने, बिजुली बत्ती, औषधी, सरसफाइ सामग्री किन्नुपर्ने, अस्पतालको रंगरोगन, गाडी, टेलिफोनजस्ता खर्च बेहोर्नुपर्ने भएकाले कम शुल्कका भरमा अस्पतालको खर्च धान्न हम्मे परेको अस्पतालले जनाएको छ।

सरकारले चालू आर्थिक वर्षदेखि कर्मचारीलाई महंगीभत्ता, पोशाकभत्ता र दुर्गमभत्ता दिने निर्णय गरेकाले पनि खर्च बढेको अस्पतालले जनाएको छ । ‘पहिला १२ प्रतिशत जोखिम भत्ता दिए पुग्ग्यो, अहिले २५ प्रतिशत अन्य भत्ता वृद्धि गरेको छ,’ डा.राईले भने।

अस्पतालको सेवालाई ध्यानमा राखी स्वास्थ्य मन्त्रालयले खर्च आपूर्ति प्रक्रिया अघि बढाएमा सम्भव भएको अन्यथा अस्पतालले ऋण खोजेर तलब दिनुपर्ने अवस्था भएको डा. राईले बताए । ‘स्वास्थ्यमन्त्री र सचिवले चाहनु भयो भने बजेट विनियोजन भएर यही वर्षभित्रै आउँछ,’ उनले भने । अस्पताल स्रोतका अनुसार कान्तिबाल अस्पतालमा खर्च अपुग हुने रोग भने पुरानै हो । एक मात्र सरकारी केन्द्रीय बाल अस्पतालमा विपन्न र दीर्घरोगी आउने भएकाले चाहेजति आम्दानी हुन नसकेको हो । ‘आम्दानी गर्नकै लागि विपन्न बिरामीमाथि कसरी वर्षेनी शुल्क वृद्धि गरौं,’ डा.राईले बाध्यता सुनाउँदै भने।

प्रकाशित: २२ आश्विन २०७५ ०२:०४ सोमबार

कान्तिबाल_अस्पताल दशैं