समाज

प्रभावकारी बन्दै राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम

डोल्पा – हिमाली जिल्ला डोल्पामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम प्रभावकारी भएको एक कार्यक्रमका सहभागिहरूले बताएका छन। शैक्षिक तथा राष्ट्रिय प्रारम्भिक कक्षा कार्यक्रमको प्रभावकारिता र यसको अनुशरण सम्बन्धी स्थानीय जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रमका सहभागिले उक्त कुरा बताएका हुन।

नेपाल सरकार शिक्षा तथा मानव स्रोत केन्द्रको र शिक्षा विकास तथा समन्वय इकाई समितिको आयोजनामा सदरमुकाम दुनैमा गरिएको अन्तरक्रिया कार्यक्रम गरिएको हो। आर्थिक वर्ष ०७३–०७४ देखि डोल्पाका ८ वटै स्थानीय तहमा रहेका विद्यालयमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम लागु भएको राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमका जिल्ला संयोजक रणबहादुर कार्कीले बताए।

८ स्थानिय तहमा रहेका विद्यालयहरू मध्येबाट ८ जना प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष सहित ८ ओटै स्थानीय तहका निर्वाचित प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमको प्रभावकारिता यसको उदेश्य, महत्व र समस्याका बारेमा सहभागिलाई  शिक्षा तथा मानव स्रोत केन्द्रका निर्देशक उत्तर कुमार पराजुली, गणेश प्रसाद पौडेल, शाखा अधिकृत कुमार बस्नेत, धनसुधन चौलागाई, कार्यक्रम संयोजक उद्धव कार्की र शिक्षा विकास तथा समन्वय इकाइ डोल्पाका इकाई प्रमुख सिंहराज डाँगी लगायतले सहजीकरण गरेका थिए।

 

प्रकाशित: २० आश्विन २०७५ ०६:४१ शनिबार

कक्षा_पढाइ_कार्यक्रम  डोल्पा