समाज

बाढीपहिरो पीडितलाई जाली र रकम वितरण

रसुवा – रसुवाको कालिका गाउँपालिकाले बाढीपहिरो पीडितलाई जाली र रकम वितरण गरेको छ। वर्षाको समयमा बाढी र पहिरोले क्षति पुर्याएको परिवारलाई गाउँपालिकाले सामग्री र रकम सहयोग गरेको हो।

पाँचवटा वडा रहेको पालिकामा यो वर्ष १ सय ७३ घरमा आंशिक तथा पूर्ण क्षति गरेको थियो। पीडितले दिएको निवेदनको आधारमा जाली तथा जाली भर्नका लागि रकम सहयोग गरिएको गाउँपालिकाका उपाध्यक्ष भवानी प्रसाद न्यौपानेले बताए।

‘जाली माग गरेका पीडितलाई न्यूनतम पाँच थानदेखि १० थानसम्म जाली दिएका छौँ, उनले भने, प्रति जाली भर्न एक हजारको दरले रकम समेत उपलब्ध गराएका छौँ।’ मिस्नेरी वाल लगाउनेलाई सिमेन्ट तथा ढुङ्गा खरिद तथा ढुवानीका लागि रकम दिएको गाउँपालिकाले जनाएको छ।

पालिकाले पीडितलाई १५ हजारदेखि २५ हजारसम्म रकम दिएको बताइएको छ। पहिरो तथा बाढीले क्षति पुुगेका घर तथा बारीमा थप क्षति हुनबाट जोगाउन २ सय ७० थान जाली खरिद गरिएको थियो।  

 

प्रकाशित: २० आश्विन २०७५ ०५:५३ शनिबार

कालिका_गाउँपालिका बाढीपहिरो_पीडित