समाज

अझै उठेन रामकृष्णको शव

भक्तपुर - साँझदेखि बुबा रामकृष्ण श्रेष्ठ कहिले डेरामा फर्केलान् र कुरा गरौंला भनेर कुरिरहेका थिए, दुई वर्षीय बालक राहुल काठमाडौंको डिल्लीबजारको भाडाको कोठामा। तर बिडम्वना कहिले नफर्किने गरी बिदा भए नावालक छोराका बुबा रामकृष्ण। अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकमा बुधबार साँझ ट्रिपरको ठक्करबाट मृत्यु भएका रामकृष्णको परिवारमा श्रीमती लक्ष्मीका साथ दुईवर्षे छोरा राहुल छन्।

श्रीमती लक्ष्मीले साँझ फोन गर्दासम्म रामकृष्णले सूर्यविनायकमा छु भनेका थिए तर त्यसको केही समयपछि फोन गर्दा त्यो फोन रामकृष्णले उठाएनन् बरु प्रहरीले उठायो र दुर्घटना भएको जानकारी गरायो। मृतककी दिदी महेश्वरीले भाइको मृत्युले श्रीमती र छोराको विच्चली भएको सुनाइन्। ‘काठमाडौंको बागबजारमा प्रेसमा मजदूरी गरेर जहान छोरालाई पालिराखेका थिए भाइले,’ दिदी महेश्वरीले नागरिकसँग भनिन्, ‘त्यसैबाट कोठाभाडादेखि लिएर सबै परिवार चलेको थियो। अब कसरी परिवार चल्छ होला?’

मृतक रामकृष्णका वृद्ध आमाबुबासहित दुई दाजु र दुई दिदीहरु छन्। तर उनीहरु सबैजना विवाहित छन् र छुट्टाछुटै स्थानमा बसोबास गर्छन्। बुढाबुढी भने गाउँमै बस्छन् । उनीहरु काभ्रेपलान्चोक जिल्लाको नमोवुद्ध नगरपालिका वडा नं ८ समुद्रेगाउँमा बस्छन्। मृतकका ठूलो दाजु नारायणसुन्दरले तीन जना दाजुभाइ र दुई दिदीबहिनी विवाहपछि सबैजना काठमाडौं र काभ्रेका विभिन्न ठाउँमा बसेर रोजगारी गरिरहको जनाए। मृतक रामकृष्ण भने काठमाडौंको बागबजारमा प्रेसमा काम गर्थे। तीन दाजुभाइ र दुई दिदीबहिनीमध्ये मृतक रामकृष्ण सबैभन्दा कान्छो हुन्।

राति आठबजेदेखि मात्रै काठमाडौं उपत्यकामा ट्रिपर सञ्चालन गर्न पाउने नियम परिवर्तन गरी साँझदेखि नै प्रवेश पाउने पहिलो दिनमै ट्रिपर दुर्घटना भएको थियो । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकको पाण्डुबजारमा बनेपाबाट काठमाडौं जाँदै गरेको बा४ख ३६५० नम्बरको ट्रिपरले ठक्कर दिँदा काभ्रेका २५ वर्षीय रामकृष्ण श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो। घटनापछि भक्तपुर अस्पतालमा लगेका उनको अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए। घटनापछि रातिसम्म पनि घटनास्थल तनावग्रस्त भएको थियो। ट्रिपर जलाइएको थियो। मृतकको लाश बिहीबार साँझसम्म पनि भक्तपुर अस्पतालमै राखिएको छ।

प्रकाशित: १९ आश्विन २०७५ ०१:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App