समाज

नियम मिचेर निर्णय

लहान – प्रमुख जिल्ला अधिकारी, जिल्ला स्वास्थ्य प्रमुखसहित स्वास्थ्यक्षेत्रका नियामक निकाय प्रमुखको भदौ २० को बैठकले अनुमति बेगर सञ्चालनमा रहेका स्वास्थ्यसंस्था अविलम्ब बन्द गर्ने निर्णय गर्याे । त्यसपछि झन्डै एक महिना बित्न लागेको छ तर त्यस्ता स्वास्थ्यसंस्था बन्द गरिनुपर्नेमा उल्टै नवीकरणका लागि म्याद थप्ने निर्णय भएको।

कानुनी कारबाहीको दायरामा ल्याउनुको साटो त्यस्ता संस्थाको मनोबल बढ्ने निर्णय गरिँदा स्वास्थ्यक्षेत्रमा बेथिति झनै बढेको छ । अनुमति लिएर सञ्चालनमा रहेका स्वास्थ्यसंस्थाले पनि आफ्नो सेवाबारे बढाइचढाइ गरेर भ्रम फैल्याउन पाउँदैनन् तर सिरहामा अनुमति नै नलिई सञ्चालनमा रहेको स्वास्थ्यसंस्थाले समेत रेडियो, माइकिङ, पर्चापम्पलेटमार्फत सर्वसाधारणलाई भ्रममा पार्ने गरी विज्ञापन गरिरहेका छन्।

जिल्ला स्वास्थ्य कार्यालयका शाखा अधिकृत उमेशलाल कर्ण नियम मिचेर प्रचारप्रसार गर्ने, अनुमति नै नलिई सेवा सञ्चालन गर्ने स्वास्थ्यसंस्थाबारे जानकारी भए पनि कारबाही हुने नसकेको बताउँछन् । नियामक निकायकका प्रमुखहरुले भने नियम मिच्नेलाई दण्डको साटो झनै दुरुत्साहन गर्नेगरी निर्णय गरेका छन् । दोब्बर दस्तुर बुझाएर नवीकरण गर्ने म्यादसमेत गुजारी नियमतः स्वतः खारेजीमा परेका स्वास्थ्यसंस्थाको सेवा बन्द गराउनुको साटो जिल्लाका नियामक निकायका प्रमुखले दुई महिना समय थप्ने निर्णय गरेका छन्।

नवीकरणको म्याद गुजारिसकेका पोलिक्लिनिक, अस्पताल र मेडिकेयर सेन्टरलाई नवीकरण गर्न दुई महिना म्याद दिने निर्णय प्रमुख जिल्ला अधिकारी सहभागी बैठकले गरेको छ । नवीकरणको म्याद गुजारिसकेका अस्पतालको हकमा भूकम्प प्रतिरोधक प्रमाणपत्र पेस गर्न दुई महिना थपिएको हो । थप अवधिमा पनि प्रमाणपत्र पेस गर्न नसक्ने अस्पताल बन्द गर्न स्वीकृतिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लेखी पठाउने निर्णय बैठकले गरेको छ।

जिल्लामा पोलिक्लिनिक, मेडिकेयर सेन्टर, हेल्थ केयर सेन्टरलगायत गरी ७५ वटा स्वास्थ्यसंस्थाले जिल्ला स्वास्थ्य कार्यालयबाट अनुमति लिएको कार्यालयका शाखा अधिकृत कर्णले बताए । यीमध्ये ८ वटा अस्पताल छन् । यी अस्पतालले समेत दोब्बर दस्तुर बुझाएर नवीकरण गर्ने म्याद गुजारिसकेको कर्णले बताए । ‘नियमतः यी अस्पताल स्वतः खारेजीमा परिसकेका छन्’, उनले भने । २०७३ सालमा दर्ता भएर त्यसपछि नवीकरण नगरेका पोलिक्लिनिक, मेडिकेयर सेन्टर, हेल्थ केयरसमेत स्वतः खारेजीमा परिसकेको उनले बताए।

दोब्बर दस्तुर बुझाएर नवीकरण गर्ने अवधिसमेत गुजारिसकेका स्वास्थ्यसंस्थालाई किन दर्ता खारेज नगर्ने भनेर असारको अन्तिम साता पत्राचार गरिएको कर्णले जानकारी दिए । ‘तर कसैले पनि जवाफ फर्काएनन्’, उनले भने, ‘यसरी अटेरी गर्ने स्वास्थ्यसंस्थाको स्वतः दर्ता खारेज भई सेवा बन्द गराउनुपर्ने हो।’

जिल्ला स्वास्थ्य प्रमुख डा. नागेन्द्र यादवले नवीकरण म्याद गुजारेर स्वतः खारेजमा परिसककेका स्वास्थ्यसंस्था सञ्चालन गर्नै नमिल्ने बताउँदै आएका थिए तर उनलै म्यान थप्ने निर्णयमा सही गरे । स्वास्थ्यसंस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० मा व्यवस्था भए बमोजिम ०७३ सालमा एक वर्षका लागि सञ्चालन अनुमति लिएका करिब सबैजसो स्वास्थ्यसंस्थाले दोब्बर दस्तुर बुझाएर नवीकरण गर्ने म्याद पनि गुजारिसकेको कर्ण र डा. यादवले दोहोर्याउँदै आएका थिए।

डा. यादवले एकैचोटि सेवा बन्द गर्न नमिल्ने तर्क गर्दै नवीकरणका लागि म्याद थपेको बताए । स्वास्थ्यसंस्थासम्बन्धी अधिकार चैत महिनादेखि स्थानीय तहमा जाने चर्चाका कारण अन्योल भएकाले पनि एकपटकलाई म्याद थप गरिएको उनको भनाइ छ । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले म्याद थप निर्णय नियम मिचेर नभएको दाबी गरे । थपिएको म्यादमा पनि नवीकरण गर्न नआए त्यस्ता स्वास्थ्यसंस्था बन्द गरिने उनले बताए । ‘अब दुई महिनाका लागि केही गर्न सकिन्न’, उनले भने।

स्वास्थ्यसंस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिकाको दफा १२ (१) अनुसार स्वास्थ्य सेवा सञ्चालन गर्न अनुमति प्राप्त स्वास्थ्यसंस्थाले सेवा सञ्चालन अनुमतिको अवधि समाप्त भएको मितिले तीन महिनाभित्र अनुमति प्रदान गर्ने निकायसमक्ष नवीकरणका लागि निवेदन दिनुपर्छ । सो अवधिमा निवेदन दिन नसकी मनासिब कारण खुलाई थप ६ महिनाभित्र निवेदन दिने संस्थालाई दोब्बर दस्तुर लिई नवीकरण गर्न सकिने पनि सोही दफामा उल्लेख छ । दोब्बर दस्तुर तिरी नवीकरण गर्ने अवधि पनि गुजारे दफा १२ (४) बमोजिम स्वास्थ्य सेवा सञ्चालन अनुमतिपत्र स्वतः खारेज हुन्छ । सिरहामा यही नियम मिच्दै म्याद थप्ने निर्णय भएको छ।

दर्ताबिनै सेवा सञ्चालन
लहान–४ मा फेमिली हेल्थ केयर प्रालि र लहान–३ मा मा देवी पोलिक्लिनिकले दुई महिनादेखि स्वास्थ्य सेवा सञ्चालन गर्दै आएका छन् । लहान–४ मै लहान अल्ट्रासाउन्डले पनि करिब एक महिनादेखि सेवा सञ्चालन गर्दै आएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका शाखा अधिकृत उमेशलाल कर्णका अनुसार यी स्वास्थ्यसंस्थाले सञ्चालन अनुमतिपत्र प्राप्त गरेका छैनन् । ‘अनुमतिपत्र नलिई सञ्चालित स्वास्थ्यसंस्था गैरकानुनी ठहरिन्छ’, उनले भने । नियमतः पहिला निवेदन दिएर दर्ता प्रमाणपत्र प्राप्त गरिसकेपछि तोकिएको सेवामात्र सञ्चालन गर्नुपर्ने उनले बताए।

अनुमति बेगरका स्थास्थ्यसंस्था सञ्चालनमा रहेको जानकारी प्रजिअ रुद्रप्रसाद पण्डितलाई भए पनि कारबाही भएको छैन । यसबारेको जिज्ञासामा उनले भने, ‘मैले स्वास्थ्य कार्यालयका शाखा अधिकृत कर्णलाई कारबाहीका लागि भनेको छु ।’ कर्णले भने बिनाअनुमति सञ्चालित स्वास्थ्यसंस्था बन्द गर्ने काम आफ्नो नभएको बताए।

प्रकाशित: १७ आश्विन २०७५ ०१:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App