समाज

बालिका बलात्कार र महिला हत्या बढे

बारा - बारामा बलात्कार र हत्या बढेको छ । असारयता मात्र जिल्लामा तीन महिलाको हत्या र दुई बालिका बलात्कृत भएका छन् । अघिल्लो दिन खेतमा काम गर्न गएकी कलैया उपमहानगरपालिका–१३, बलिरामपुरकी सियापति धोबिन असोज ७ गते मृत अवस्थामा फेला परिन् । बेलुकीपख घरबाट निस्किएकी धोबिन राति अबेरसम्म नफर्केपछि परिवारले खोजतलास गरेका थिए । त्यस क्रममा पसाहा खोलानजिकै रहेको उखुबारीमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जित सिंह राठौरले घटनामा संलग्न अभियुक्त पहिचान भइसकेको तर फरार रहेकाले खोजी भइरहेको बताए । मृतककी श्रीमान् रामबालक बैठा चार/पाँच वर्षदेखि वैदेशिक रोजगारमा छन् भने घरमा तीन छोरी र एक छोरा छन्।

उक्त घटनाको दुई दिनअघि मात्र असोज ५ गते बालिका बलात्कार गर्ने एक जना पक्राउ परेको प्रहरीले जनाएको छ । स्थानीय ६ वर्षीया बालिका बलात्कार आरोपमा महागढीमाई–४ का नगिन ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक राठौरका अनुसार बिहान १० बजे गाउँकै विद्यालयमा पढ्न जाँदै गरेकी बालिकालाई ठाकुरले खेलौना देखाउने भन्दै गोठमा लगेर बलात्कार गरेका थिए । बालिकाको गुप्तांगबाट रगत बगिरहेको भेटिएपछि आक्रोशित स्थानीय बासिन्दाले ठाकुरलाई प्रहरीको जिम्मा लगाएका थिए।

यस्तै असोज २ गते जितपुरसिमरा उपमहानगरपालिकाकी ५ वर्षीया बालिका पनि बालात्कृत भएको घटना सार्वजनिक भएको छ । बलात्कार आरोपमा जितपुरसिमरा–१४ का १८ वर्षीय युनुश राईलाई प्रहरीले पक्राउ गरेको छ । राईलाई हिरासतमा राखेर घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

यस्तै श्रीमती हत्या अभियोगमा देवताल गाउँपालिका–६, रौवाहीका अनिल प्रजापति पक्राउ परेका छन् । गत साउन २७ गते उनले १९ वर्षीय श्रीमती ममता कुमारीको घरमै हत्या गरेको प्रहरी नायब उपरीक्षक राठौरले जानकारी दिए । उनैले श्रीमतीको हत्या गरेको प्रमाणहरू फेला परेको उनको दाबी छ । घरासयसी झगडाका क्रममा आवेशमा आएर श्रीमतीको घाँटी थिची हत्या गरेको अभियुक्त अनिलले स्वीकार गरेको उनले बताए । रौतहटको चन्द्रनिगाहपुर माइती भएकी ममताको २०७५ वैशाख २८ गते अनिलसँग विवाह भएको थियो।

असार १२ गते कलैया उपमहानगरपालिका–५ का १७ वर्षीया प्रियंका मिश्राको घरमै रहस्यमय तरिकाले मृत्यु भयो । हत्या अभियोगमा उनकै बुवा बृजकिशोर, आमा पुष्पादेवी, काकाहरू रामनाथ र हरिकिशोरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरेको थियो । अनुसन्धानबाट परिवारले नै प्रियंकाको हत्या गरेको दाबी बारा प्रहरीले गरेको थियो । तर, प्रमाण नपुगेको भन्दै जिल्ला न्यायाधिवक्ताको कार्यालयले पक्राउ परेका चारै जनालाई हिरासतमुक्त गराएपछि घटना रहस्यमै रहेको छ । स्थानीय नेतासमेतको संलग्नतामा आर्थिक चलखेल गरी उक्त घटनाका अभियुक्तहरूलाई अदालतमै पेश नगरी छाडिएको एक सरकारी वकिलको आरोप छ।

प्रकाशित: १६ आश्विन २०७५ ०५:०७ मंगलबार

बलात्कार हत्या बारा