समाज

धार्के–सीतापाइला खण्ड विकल्प

धार्के–सीतापाइला सडक खण्ड निर्माण गरिँदै। तस्बिर : नागरिक

धादिङ - नौबिसे–नागढुंगा सडकमा हुने सवारीसाधनको चापलाई कम गर्न वैकल्पिक मार्ग खोल्ने तयारी गरिएको छ। चाडपर्वका बेला घर हिँडेकाहरू ज्यादै जाममा पर्ने भएकाले वैकल्पिक मार्ग तयार गर्न लागिएको हो। जामका कारण पछिल्लो समय नौबिसे–नागढुंगा सडकको २५ किलोमिटर पार गर्न चार घण्टाभन्दा बढी समय लाग्ने गरेको छ । यही कारण यो सडकको विकल्प खोज्न प्रयास थालिएको छ। विकल्पका रुपमा धार्के–सीतापाइला सडक खण्ड प्रयोग गर्न सकिने सम्भावनाबारे छलफल थालिएको छ।

धादिङबाट प्रदेशसभा सदस्यमा निर्वाचित राजेन्द्र पाण्डेले धार्के–सीतापाइला सडक खण्डको निरीक्षण गर्दै नौबिसे–नागढुंगा सडकमा रहेको खाल्डाखुल्डी पुर्न सडक कार्यालयले प्रहरीसँग समन्वय गरेर तत्काल काम गर्नुपर्ने बताएका छन्। उनले वैकल्पिक सडकका रुपमा रहेको धार्के–सीतापाइला सडकमा साना सवारीसाधन सञ्चालनको व्यवस्था मिलाउन पनि उनले अनुरोध गरेका छन्। उनले उक्त सडक मर्मतको काम अघि बढेको जानकारी दिए। धादिङको धार्केबाट सीतापाइला जाने कच्ची सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न मर्मत थालिएको जानकारी दिए।

नौबिसे–नागढुंगा सडक साँघुरो र धेरै घुम्ती भएका कारण स्तरोन्नति गर्नुपर्ने अवस्था छ। निर्माण सुरु गर्दा दिनमा एक हजारसम्म सवारीसाधन गुड्न सक्ने गरी बनाइएको सो सडकमा हरेक दिन १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन्।

धार्के–सीतापाइला खण्ड २३ किलोमिटर लामो छ। कच्ची अवस्थामा रहेको उक्त सडकमा धुलो उड्न नदिन दैनिक पानी हाल्नुपर्ने धुनीबेसी नगरपालिकाका नगरप्रमुख बालकृष्ण आचार्यले बताए। ‘नौबिसे–नागढुंगा सडक खण्डमा एउटै मात्र सवारीसाधन बिग्रियो भने पाखा लगाउने ठाउँ छैन’, आचार्यले भने, ‘दुईतीनवटा सवारीसाधन बिग्रिएपछि त सो सडक खण्ड पूरै अवरुद्ध हुने गरेको छ । त्यसैले उक्त खण्डमा सवारी चाप कम गर्न वैकल्पिक बाटो खोजी गरेका छौं।’

नौबिसे–नागढुंगा सडक साँघुरो र धेरै घुम्ती भएका कारण स्तरोन्नति गर्नुपर्ने अवस्था छ। निर्माण सुरु गर्दा दिनमा एक हजारसम्म सवारीसाधन गुड्न सक्ने गरी बनाइएको सो सडकमा हरेक दिन १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन् । कुनै गाडी बिग्रिएमा उठाउने साधन (-याकर) को व्यवस्थासमेत छैन। हरेक दिन हुने जाम कम गर्न ठूला, अत्यधिक भार भएका र लामो दूरीका सवारीसाधनलाई धार्के क्षेत्रमा दिउँसोको समयमा रोक्ने र राति मात्र सञ्चालन गर्न दिने ट्राफिक प्रहरीले बताएको छ। अन्य सवारीसाधनलाई धार्के–सीतापाइला सडक प्रयोगका लागि अनुरोध गर्ने र राजमार्गमा एकनासले सवारीसाधन सञ्चालन हुने व्यवस्था मिलाउन लागिएको हो।

दैनिक जामले सास्ती
चाडपर्व नजिकिएको छ, सहर बजारमा बसोवास गर्ने बिस्तारै गाउँ फर्किन थालेका छन्। पसल, होटल, व्यवसाय गर्नेहरुलाई हतारो परेको छ। चाडपर्वका लागि खाद्यान्न तथा कपडा नौबिसे–नागढुंगाको बाटो हुँदै राजधानी काठमाडौं भित्रिएका छन् भने दसैं मनाउन बिस्तारै राजधानीबाट बाहिरिन थालेका छन्। उनीहरुले राजधानी छिर्ने मुख्य नाकाको रुपमा लिइने नौबिसे–नागढुंगा सडकमा दैनिक लामो जाम बेहोर्नुपरेको छ। धादिङको धार्केदेखि काठमाडौंको कलंकीसम्म नै ठाउँठाउँमा लामो जाम हुँदा यात्रु र चालकले सास्ती भोग्नुपरेको हो।

ट्राफिक प्रहरीका अनुसार ठूला मालवाहक ट्रक र लरीका कारण काठमाडौंको कलंकीदेखि धादिङको धार्केसम्म जाम हुने गरेको हो। दसैंका लागि सामान लिएर काठमाडौं आउने लरीका कारण एक सातादेखि ट्राफिक जाम बढेको महानगरीय ट्राफिक प्रहरी कार्यालय नागढुंगाले जनाएको छ । यो सडक हुँदै दैनिक झन्डै डेढसय लरी ओहोरदोहोर गर्छन्। निकै ठूला गाडी घुमाउरो बाटोमा बिस्तारै गुड्ने र केही ठाउँमा रोकिने भएका कारण जाम बढेको छ।

प्रकाशित: १५ आश्विन २०७५ ०१:२२ सोमबार

नौबिसे–नागढुंगा_सडक जाम