समाज

१९ दिनपछि खुल्यो लमजुङ–मनाङ सडक

पहिरोले अवरुद्ध भएको लमजुङ–मनाङ सडकखण्डको छहरे भीरमा काम गर्दै नेपाली सेनाको उदीपुरस्थित श्रीजंग गणका सैनिक ।   तस्बिरः नागरिक

लमजुङ – भदौ अन्तिमसाता गएको मर्स्याङ्दी पहिरोका कारण कतै भत्किएर त कतै पहिरोले पुरेर अवरुद्ध बन्दै आएको लमजुङ–मनाङ सडकमा सवारी आवागमन सुचारु भएको छ। भदौ २७ गते तीजको दिनमा परेको भीषण वर्षासँगै गएको पहिरोले क्षतिग्रस्त बनाएको सडक मर्मतसम्हार गरिएपछि आइतबार दिउँसोदेखि यातायात सेवा सञ्चालन गरिएको हो।

पहिरोका कारण बेसीसहर नगरापालिका ६ खरखरेदेखि मर्स्याङ्दी गाउँपालिकाको खुदी क्षेत्र, घोप्टभीर, अर्खले, रामबजार हुँदै च्याम्चेसम्म करिब ३० किलोमिटर सडकखण्डको थुप्रै ठाउँमा क्षति भएकाले सवारी आवागमन अवरुद्ध भएको थियो। बेसीसहरदेखि मनाङ सदरमुकाम चामेसम्म सडकको दुरी ६५ किलोमिटर रहेकोमा लमजुङतर्फ झण्डै ३५ किलोमिटर दुरी रहेको छ।

मर्स्याङ्दी गाउँपालिका ३ अर्खलेबेसीदेखि वडा नं ४ रामबजारसम्मको सडकखण्डमा धेरै क्षति भएको डिभिजन सडक कार्यालय दमौलीका प्रमुख डिभिजन इञ्जिनियर भानु जोशीले यसअघि नै जानकारी गराएका थिए। बाहुनडाँडाको तातोपानी कुण्ड वारीको छहरेमा सबैभन्दा अप्ठ्यारो हुने गरी क्षति पुगेको थियो। सो भीरखण्डको करिब ४० मिटर क्षेत्रफलमा नेपाली सेनाले असोज ९ र १० गते विष्फोट गराएर चट्टान फोर्दै सडक मर्मत गरेको उनले बताए। विष्फोटक पदार्थ प्रयोग गरेर चट्टान फुटाएपछि बाटो खुलाउन सहज बनेको उनको भनाई छ। सडकखण्ड अन्तर्गतको घोप्टे भीरमा लगातार लेदोमाटो बगिरहने हुनाले पानी आउँदा थप समस्या हुने शंका जोशीले गरेका छन् । त्यसको रोकथामको लागि तत्काल केही गर्न नसकिने हुँदा बर्षा रोकिएको खण्डमा मात्रै त्यहाँ समस्या नहुने उनको भनाई छ।

गाउँपालिकादेखि जिल्ला प्रशासन कार्यालय, डिभिजन सडक कार्यालय दमौली, उदीपुरस्थि नेपाली सेनाको श्रीजंग गण, जिल्ला प्रहरी कार्यालय र मर्स्याङ्दी करिडोरमा निर्माणको काम अघि बढाउँदै गरेको बुटवल पावर कम्पनीद्वारा प्रवर्धित जलविद्युत आयोजनाको संयुक्त पहलमा सडक खुलाइएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए। उनका अनुसार पहिरोले सडक क्षतिग्रस्त बनाएको भोलिपल्टै देखि सम्बन्धित निकायसँग समन्वय गर्दै जनशक्ति र प्रविधि परिचालन गर्दै आइएकाले सोचेभन्दा अघि नै सडक खुलेको हो।

‘पहिरो गएपछि त्यो बाटो भएर हिँड्ने यात्रुदेखि स्थानीयबासीले समेत सडक मर्मतसम्हार गर्न कम्तीमा महिनादिन लाग्ने अनुमान गरेका थिए,’ प्रजिअ ढकालले भने, ‘तर त्यहाँको समस्या प्रति हामी निकै चिन्तित थियौं त्यसैले सबै जुट्यौं, जुटायौं र काम गर्यौं।’ दशैं–तिहार नजिकिँदै आएको र पर्यटकीय मौसम सुरु भइसकेकाले पनि जतिसक्दो छिटो सडक खुलाउनु पर्ने दबाब परेको उनले बताए। सडक अवरुद्ध भएपछि गण्डकी प्रदेशसभा सदस्य मायानाथ अधिकारी, संविधानसभाका सभाषद् जमिन्द्रमान घले, पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ लगायत विभिन्न पार्टीका जिल्लास्तरीय प्रतिनिधि र जनप्रतिनिधिले समेत अवलोकन गरेका थिए। सडकको अवस्था र दुई जिल्लाका सर्वसाधारणको समस्यालाई बुझेर सकेसम्म ‘फास्टट्रयाक’बाट मर्मतसम्हारको काम गर्ने वातावरण सिर्जना गरेको गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले बताए।     

झण्डै तीन सातापछि सडक खुलाएर यातायात सेवा सञ्चालनमा आएपछि मर्स्याङ्दी गाउँपालिकाका ताघृृङ, घेर्मु क्षेत्र र मनाङका बासिन्दाले राहतको सास फेरेको मर्स्याङ्दी गाउँपालिका ४ का वडाध्यक्ष सुमन गुरुङले बताए। ‘पहिरोले यतिसम्म सास्ती दियो कि, भनिसाध्यै छैन,’ गुरुङले भने, ‘गाडी गुडाउने सडक त भएन नै तर पैदल हिँड्ने गोरेटो समेत भएन, ज्यानको बाजी राखेर पहिरो पार गर्नु पर्याे।’ सवारी साधान ठप्प हुँदा सो क्षेत्रमा दिनहुँ आवश्यक खाद्य सामाग्रीदेखि अन्य सामान ढुवानी समेत अवरुद्ध भयो।

मुश्किलले गुजारा गर्न बाध्य बनेको उनले बताए। हिमालपारीको भूगोल मनाङ्सम्म पुग्ने निर्विकल्प सडक १९ दिनसम्म अवरुद्ध हुँदा त्यहाँ पनि दैनिक आवश्यकताका सामाग्रीहरू खाद्यन्न, औषधी, ईन्धन लगायतका कुनैपनि सामान ढुवानी गर्न सकिएन। यो बीचमा झण्डै ती सामाग्रीको अभाव देखा पर्न थालिसकेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले बताए। च्याम्चेदेखि मनाङ तर्फ चल्दै आएको सवारीसाधानलाई ईन्धन अभाव हुँदा थन्काएर राख्नुपर्ने बाध्यता आएको र चलेको केहीले पनि यात्रुहरूको चाप थेग्न नसकेको उनको भनाई छ। 

भर्खरै यो वर्षको पर्यटकीय मौसम सुरु भएकाले सडक अवरुद्ध हुँदा अन्नपूर्ण पदयात्रा मार्गमा जाने वाह्य तथा आन्तरिक पर्यटकहरूले निकै समस्या झेल्नुपरेको बताइएको छ। पहिरोले पुरेकाले कतै हिँड्ने बाटो नहुँदा उनीहरूले जोखिमै मोलेर यात्रा गर्दै आएको मर्स्याङ्दी गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले बताए। ‘एक त हिड्नै समस्या भयो, धेरै सामान हुनेहरुलाई झन् सास्ती,’ उनले भने, ‘सामान ढुवानी नै रोकिएपछि होटलवालाहरूले पनि के खुवाउने भन्ने समस्या समेत देखियो।’ यातायात सेवा सञ्चालनमा आएकाले अब भने धेरै सहज हुने उनको भनाई छ।

प्रकाशित: १४ आश्विन २०७५ ११:०३ आइतबार

लमजुङ_मनाङ_सडक सवारी_आवागमन_सुचारु मर्स्याङ्दी_पहिरो