समाज

सार्वजनिक सडकमा दर्जनौं निजी ‘ट्रान्सफर्मर’

वीरगन्जको आदर्शनगरमा सार्वजनिक सडकमा रहेका एनआइसी एशिया बैंक र सेन्चुरी बैंकको निजी ‘ट्रान्सफर्मर’हरु ।

बीरगन्ज– वीरगन्जका सडकमा दर्जनौंका संख्यामा देखा पर्ने विद्युतका ‘ट्रान्सफर्मर’ अवैध रुपमा राखिएको निजी ‘ट्रान्सफर्मर’ भएको खुलेको छ। यहाँ रहेका विभिन्न बैंक, होटेल, उद्योग र व्यापारिक प्रतिष्ठानले आफुखुसी फुटपाथ र सडकको जग्गामा आफ्नो निजी ‘ट्रान्सफर्मर’ लगाएका छन्। नेपाल विद्युत प्राधिकरणले त्यसरी सार्वजनिक सडकमै राखिएको अबैध ‘ट्रान्सफर्मर’मा विद्युत आपूर्ति दिएको छ।

हालसम्म कुनै पनि व्यापारिक वा बितीय संस्था, उद्योग वा प्रतिष्ठानले निजी ‘ट्रान्सफर्मर’ राख्ने स्किृति लिन नआएको वीरगन्ज महानगरपालिका कार्यालयले जनाएको छ। ‘ट्रान्सफर्मर’ त्रिभुवन राजपथ पर्ने वीरगन्जको मेनरोड वा महानगरपालिका मातहतका अरु सडकहरुमा राखिएका छन्। वीरगन्जमा सडकका जतिको त्यति नै छ, सवारीको चाप हरेक दिन बढ्दो छ। यस्तोमा प्रत्येक दिन जामको समस्या बेहोरिरहेको सहरको ट्राफिक ब्यवस्था सुधार्ने उपायको खोजी गर्दै जाँदा सडकमा राखिएका निजी ‘ट्रान्सफर्मर’ एउटा मुख्य कारणको रुपमा देखा परेको ‘व्यवस्थित वीरगन्ज’ अभियानका प्रकाश टिबडेवाल बताउँछन्। फुटपाथहरुमा ट्रान्सफर्मर राखिएको ठाउँमा पैदल यात्रु मुल बाटोमा हिड्ने बाध्यता हुन्छ। यसले पैदल यात्रुदेखी सवारी आवागमनलाई समेत बाधा पार्छ।

निजी ‘ट्रान्सफर्मर’हरु सार्वजनिक सडकमा राख्ने स्विकृति कसैलाई नदिएको वीरगन्ज महानगरपालिका कार्यालयका राजश्व महाशाखाप्रमुख रामदयाल यादव बताउँछन्। ‘निजी तवरमा राखिएका ‘ट्रान्सफर्मर’ जडानको लागि इजाजत लिन कोही आएको मलाई याद छैन्, सडकको जग्गामा राखिएका सबै ‘ट्रान्सफर्मर’ उनीहरुले आफुखुसी राखेका हुन्’, महानगरपालिकाका विद्युत शाखाका इन्जिनियर सुरेन्द्रप्रसाद साहले भने, ‘हाम्रो ध्यान पनि नपुगेको हो यसमा।’ वीरगन्जको रजतजयन्ती चोकदेखि पारवानीपुरसम्म करिब ५ दर्जन अवैध निजी ‘ट्रान्सफर्मर’हरु रहेको पाइन्छ। सबभन्दा बाक्लो संख्यामा वीरगन्जको मुख्य बजार आदर्शनगर क्षेत्रमा त्यसता निजी ‘ट्रान्सफर्मर’हरु रहेका छन्। त्यहाँ घरैपिच्छे रहेका बैंकहरुको ‘ट्रान्सफर्मर’ सडकको पदमार्गमा देखिन्छन्।

‘आजै राखिएका होइनन ‘ट्रान्सफर्मर’हरु, बिगतमा लगाइएका हुन्, सायद कसैले ध्यान नै दिएन कि’, युवा नेता तबरेज अहमदले भने, ‘जडान गर्नेले निजी ‘ट्रान्सफर्मर’ सार्वजनिक ठाउँमा मैले किन लगाउने? भन्ने कुरा बिचार गर्नुपर्ने थियो, सर्वसधारणले बिजुलीका खम्बा वा ‘ट्रान्सफर्मर’ जडान भइरहेको देखे भने विद्युत प्राधिकरणले राख्न लागेको भनी अन्दाज गर्छन र कसैले प्रतिक्रिया गर्ने कुरा नै आउँदैन्। प्राधिकरणले सार्वजनिक ठाउँमा राखिएका निजी ‘ट्रान्सफर्मर’मा विद्युत आपुर्ती एक पटक रोकेको भए अर्को ठाउँमा यो प्रबृति दोह्रिने थिएन।’ करिब २ दशकपछि अब निर्वाचित जनप्रतिनिधिहरु स्थानीय तहमा आएवपछि यस्ता कुराहरु सच्याइनु पर्ने उनले बताए।

‘महानगरपालिकाले आफुले इजाजत नदिएको सार्वजनिक ठाउँमा राखिएको ‘ट्रान्सफर्मर’ हटाउन पत्राचार गर्नुपर्ने नेपाल विद्युत प्राधिकरण वीरगन्ज बितरण केन्द्रका प्रमुख मुनिन्द्र ठाकुर बताउँछन्। ‘विद्युत प्राधिकरणले लगेर निजी ‘ट्रान्सफर्मर’ राख्दैन, यसमा नियम के छ भने सम्बन्धीत उद्योगले आफै आफ्नो आवश्यक्ता अनुसार आफ्नै खर्चमा ‘ट्रान्सफर्मर’ राख्दछ,’ ठाकुरले भने, ‘जडान गरिसकेपछि हामीलाई निवेदन दिन्छन मैले ‘ट्रान्सफर्मर’ राखेको छुँ चेकजाँच गरेर यति विद्युत दिनुस् भनेर। त्यसपछि चेकजाँच गरेर ग्राहकको माग अनुसार प्राधिकरणले विद्युत आपूर्ति दिने हो।’ सार्वजनिक ठाउँमा ‘ट्रान्सफर्मर’ राख्ने कुरा हेर्ने जिम्मेवारी महानगरपालिकाको भएको उनको तर्क छ।

‘५० केभिएसम्म प्राधिकरणकै ‘ट्रान्सफर्मर’बाट आपूर्ति दिन सकिन्छ, सम्भव भएसम्म,’ ठाकुरले भने, ‘तर जुन ठाउँमा प्राधिकरणको ‘ट्रान्सफर्मर’ छैन वा भए पनि चाप बढी छ भने त्यहाँको लागि निजी संस्थाहरुले यसरी ‘ट्रान्सफर्मर’ राख्ने हुन। यदि सहमति छैन भने महानगरपालिकाले चिट्ठी काटे भइहाल्यो नी।’ वीरगन्ज महानगरपालिकाका निर्णयकर्ताहरु भने यसमा अनभिज्ञ नै देखिए। नगरप्रमुख विजय सरावगीले सार्वजनिक सडकमा निजी ट्रान्सफर्मर वा अरु संरचना राख्न नहुने बताए। उनले यसको लागि आवश्यक कदम चाल्ने बताए। प्रमुख प्रसाशकीय अधिकृत भिष्मकुमार भुषालले अहिलेसम्म ध्यान नपुगेकोले आफूहरुको लागि सार्वजनिक सडकमा निजी ‘ट्रान्सफर्मर’को कुरा नौलो भएको बताए। उनले यसलाई नियमन गर्ने जनाए।

प्रकाशित: १३ आश्विन २०७५ १२:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App