समाज

मलेसियामा छन् मासिक लाखौ कमाउने नेपाली

क्वालालम्पुर– वैदेशिक रोजगार भन्नासाथ गाह्रो काम, थोरै कमाइ अनि कैयन वेथिितिका भोगाई हुन्छन् भन्ने धेरैको बुझाइ छ। तर विभिन्न मुलुकमा पुगेर काम गर्ने कतिपय नेपाली निकै सान, मान र इज्जतका साथ कमाइ मात्र गर्दैनन् अन्य स्वदेशी तथा विदेशीलाई रोजगारीसमेत दिलाउँदै आएका छन्।

तिनैमध्येका एक हुन, सुनसरी जिल्लाको इटहरीका शम क्षेत्री । जो मलेसियाको चेन होटल ‘होटल ग्राण्ड कन्टिनेन्टल’मा इज्जतिलो पदमा कार्यरत छन्। क्षेत्रीय परामर्शदाताको रुपमा कार्यरत क्षेत्रीले महीनामा १५ लाखभन्दा बढी कमाउछन् । इज्जतिलो काम र राम्रै कमाइका साथै उक्त होटलमा माथिल्लो दर्जामा काम गर्न पाउने कमै मध्येका एक हुन् क्षेत्री। ‘इमान र इज्जतसँगै दाम पनि ठीकै छ, महिनामा तलब मात्र १५ लाख रुपैयाँ हुन्छ । यता उता गर्दा १८ देखि माथिपुग्छ।’ चेन होटल चीन, मलेसिया, सिङ्गापुर, ब्रुरुनाई, संयुक्त अधिराज्य बेलायत, अष्ट्रेलिया, न्यूजील्याण्डमा गरेर ६२ वटा होटल छन् । क्षेत्रीले उक्त होटलेको एशिया विभाग हेर्छन।

शुरुमा चेन होटल सेराटनमा सेवा गरेका क्षेत्रीले लेजन होटल हुँदै अहिले ग्राण्डमा विगत सात वर्षदेखि कार्यरत छन्। होटल राम्रोसँग चलेको छ । नेपाली धेरै आउछन् । 

क्वालालम्पुरमा व्यवसाय गर्दै आएका व्यवसायी शङ्करप्रसाद आचार्य नेपाली रेष्टुराँ तथा डान्स् बारका सञ्चालक हुन्। यहाँ नेपालीसहित भारत, चीन, इण्डोनेशियाका नागरिकले काम गर्छन् । ‘व्यवसाय राम्रै चलेको छ,’ उनले भने,‘ भविष्यमा नेपालमै आएर केही लगानी गर्ने सोच छ।’ 

काठमाडौँका विपीन अम्गाई मलेसियाको सेलाङगोरमा रेष्टुराँ चलाउछन् । सुरुमा चारवटा रेष्टुराँ र एक मिनिमार्केटसमेत चलाएका अम्गाईको हिमाल रेष्टुराँमा नेपालीकै घुइँचो हुन्छ । यो क्षेत्रमा उनीजस्तै अन्य सात जनाले व्यवसाय गर्छन् । नेपालीले रेष्टुराँ व्यवसाय गर्दा कम्तीमा मलेसियन रिङ्गेट एक लाख लगानी गर्नैपर्छ । नेपाली तथा केही विदेशी गरी ३० जनालाई रोजगार दिलाएका उनी शुरुको जस्तो राम्रो व्यवसाय नचलेको बताउछन्। 

सिन्धुली खुर्कोटका देवीबहादुर चौहान विगत तीन वर्षदेखि होटल ग्राण्डमा गर्छन। हाल १३ नेपाली कार्यरत उक्त होटलमा कम्तीमा मलेसियन रिङ्गेट १८ सयदेखि २५ सयसम्म कमाइ हुन्छ । काम सजिलै छ,’चौहानले भने, ‘समग्रमा यहाँ काम गर्ने सामान्य कर्मचारीले महीनाको एक लाख जति कमाइ गर्छन्।’ 

क्षेत्रीजस्तै माथिल्लो पदमा काम गर्ने स्ट्याण्डर चाटर्ड बैंकका देशीय प्रमुखमा एक नेपाली छन् भने क्वालालम्पुरको टुइन टावरको मुख्य इञ्जिनीयरमा दिनेश पौडेल कार्यरत छन्।मलेसियामा प्रतिष्ठित कम्पनीमा माथिल्लो तहका काम गर्ने मात्र हैन यहाँका विभिन्न कम्पनीमा काम गर्ने नेपाली मजदूरले पनि राम्रो कमाएर प्रगति गरेका छन् ।

सुनसरी इटहरीका एमडी अमदाज मलेसियाकै जोहरबारुको एक गार्मेन्टमा काम गर्छन। काम राम्रो चलेका बेला महीनामा आरएम २५ सय देखि २९ सयसम्म कमाइ हुन्छ । कम्तीमा पनि दुई हजार हुन्छ । कम्पनीभित्र कुनै समस्या छैन। करीब १८ सय मजदूर रहेको उक्त कम्पनीमा नेपाली मात्रै एक हजार जनाले काम गर्छन्। 

विश्व पर्यटनको आकर्षणको रुपमा रहेको मलेसियाको सरकारी तथ्याङ्कअनुसार सन् २०१७ मा ३ करोड ५९ लाख विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२० मा तीन करोड पर्यटक पुराउने मलेसियाको लक्ष्य छ। रासस/सिवी अधिकारी 

 

प्रकाशित: १३ आश्विन २०७५ ११:१४ शनिबार

वैदेशिक_रोजगार मलेसिया