समाज

प्रमाणपत्र कीर्ते गर्ने पक्राउ

जाजरकोट – नक्कली प्रमाणपत्र बनाएको आरोपमा जाजरकोटमा एक जना विद्यार्थी र कम्प्युटर संचालकलाइ प्रहरीले पक्राउ गरेको छ। छेडागाड नगरपालिकाको रामानन्द मावि जेवा दसेराका छात्र सुनिल परियारले शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

विद्यालयको चारित्रिक प्रमाणपत्र कीर्ते बनाएको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो। नागरिकताको प्रमाणपत्र बनाउन जिल्ला प्रशासन कार्यालयमा गएका बेला केरमेट गरेको चारित्रिक प्रमाणपत्र देखेर कार्यालयका कर्मचारीले फर्काइदिएपछि परियारले भेरी कम्प्युटर सेन्टरमा गएर कीर्ते प्रमाणपत्र बनाएको बताइएको छ।

दोस्रो पटक नागरिकता बनाउन गएका परियारले पेस गरेको प्रमाणपत्र नक्कली भएको शंका मानी अनुसन्धान गर्न जिल्ला प्रशासनले प्रहरीलाई पत्र लेखेपछि कीर्ते प्रमाण पत्र वनाएको तथ्य खुलेको हो। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोेलीले परियार र नक्कली प्रमाणपत्र बनाउने भेरी कम्प्युटर सेन्टरका संचालक तेजराज विष्टलाई पक्राउ गरिएको निमित्त प्रहरी प्रमुख ईन्द्रजित सुनारले जानकारी दिए।

छात्र परियारले चारित्रिक प्रमाणपत्रमा जन्म मिति फरक परेपछि सच्याउने काम नहुँदा भेरी कम्प्युटरका संचालक विष्टलाई नयाँ बनाइदिन आग्रह गरेका थिए। सञ्चालक विष्टले नयाँ बनाएको प्रमाणपत्रको रकम लिइ आफ्नो कम्प्यूटरमा नयाँ डिजाइन गरी प्रधानाध्यापकको सहि समेत आफै कीर्ते गरेको निमित्त प्रमुख सुनारले बताए। उनले दुवै जनाविरुद्ध लिखत सम्बन्धी कीर्ते गरेको अभियोगमा मुद्धा चलाउने तयारी गरिएको बताए। 

नयाँ मुलुकी ऐन कानुन अनुसार कीर्ते गर्ने व्यक्तिलाई लिखत सम्बन्धी कसुर बमोजिम  ७० हजार जरिमाना र ७ वर्षसम्म जेल हुनसक्ने निमित्त प्रमुख सुनारले बताए। जिल्लाका विभिन्न स्थानहरूमा यस्ता कीर्ते प्रमाणपत्र बनाउनेको विगविगी हुन सक्ने  प्रहरीले अनुमान गरेको छ। 

 

प्रकाशित: १२ आश्विन २०७५ १०:४६ शुक्रबार

नक्कली_प्रमाणपत्र कम्प्युटर_संचालक विद्यार्थी सुनिल_परियार