समाज

पहिरोले पाइप बगाउदा ३ सय घर अध्यारोमा

मुगु – मुगुको सोरु गाउँपालिका वडा नम्बर ७ महादेव खोलामा रहेको लघु जलविद्युत आयोजनाको पाइप पहिरोले बगाउदा असोज ९ गते रातीबाट स्थानीय ३ सय घरधुरी अध्यारोमा बस्न बाध्य भएका छन्।

महादेव लघु जलविद्युत आयोजनाको विद्युत उत्पादन गृहमा माथिबाट आएको पहिरोले विद्युत उत्पादन गृहमा जडान गरिएको फलामे पेन स्टक पाइप ५० मिटर बगाएर विद्युत गृहमा समेत क्षति पुर्याएपछि विद्युत सेवा अवरुद्ध हुन पुगेको सोरु गाउँपालिका ७ का वडा अध्यक्ष राजेन्द्र बुमीले जानकारी दिए।

१२ किलोवाट उत्पादन क्षमता रहेको यो आयोजनाबाट वडा नम्बर ७ का सिप र बुम्च गाउँका ३ सय घरधुरीले उज्यालो पाएका थिए। पहिरोका कारण विद्युत सेवा अवरुद्ध भएपछि स्थानीयवासी दियालो बाल्न बाध्य छन्। विद्युत सेवा अवरुद्ध हुँदा सबैभन्दा बढि विद्यालय जाने बालबालिका प्रभावित बनेका स्थानीयवासीले बताएका छन्। ६ वर्षअघि निर्माण भएको विद्युत आयोजनाको लगानी ५२ लाख रहेको थियो।

अवरुद्ध विद्युत सेवा सुचारु गर्न अझै ६ महिना लाग्न सक्ने वडाध्यक्ष बुमीले जानकारी दिए। गाउँपालिकाले यसअघि नै प्राप्त बजेट विभिन्न विकास योजनामा विनियोजन गरिसकेकाले विद्युत आयोजना मर्मत तथा सुचारु गर्न अरु निकायसँग बजेट माग्नुपर्ने अवस्थाको कारण पनि आयोजना सुचारु गर्न ढिलाई हुने उनले जानकारी दिए। 

प्रकाशित: १२ आश्विन २०७५ ०७:३० शुक्रबार

जलविद्युत_आयोजना पाइप पहिरो सोरु_गाउँपालिका