समाज

उपत्यकाका १४ स्थानमा सहुलियत मूल्यका पसल खुल्दै

सरकारले चाडपर्वलाई लक्षित गरी उपत्यकामा (अाज) शुक्रबारदेखि सहुलियत मूल्यका पसल सञ्चालन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको अगुवाईमा दसैं, तिहार र छठलाई लक्षित गरी असोज १२ गतेदेखि २७ गतेसम्म सहुलियत मूल्यका पसल सञ्चालन गर्न लागिएको हो । नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पाेरेसन, नेसनल ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानले रामशाहपथ, टेकु, कालिमाटी, नख्खु, थापाथली, भक्तपुर, कोटेश्वर, लगनखेललगायत १४ स्थानमा सहुलियत मूल्यका पसल सञ्चालन गर्ने तयारी गरेका छन् । शुक्रबार वाणिज्य, आपूर्ति मन्त्री मातृका यादवले साढे दुई नेसनल ट्रेडिङ कर्पाेरेसन सिंहदरबार बगीखाना कार्यालयमा उद्घाटन गर्ने कार्यक्रम छ।

नेपाल खाद्य संस्थानका सूचना अधिकारी शंकर सापकोटाले शुक्रबारदेखि सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउने बताए । सहुलियत मूल्य पसलमा चामल, नुन, चिनी, घिउ, पनिर, तेल, दाल, मसला, गेडागुडीलगायत दैनिक उपभोग्य सामग्री छुटमा पाइन्छ । यी सामानमा प्रतिकिलो तथा प्रतिलिटर दुईदेखि १० रूपैयाँसम्म छुट दिइएको छ । खाद्य संस्थानले बास्मती चामलमा प्रतिकेजी १० रूपैयाँ र अन्यमा प्रतिकेजी पाँच रूपैयाँ छुटको व्यवस्था गर्ने भएको छ  । यसैगरी चिनीमा पाँच रूपैयाँ छुट दिने तयारी गरेको छ।

नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पाेरेसन, नेसनल टे«डिङ कर्पोरेसन र दुग्ध विकास संस्थानले रामशाहपथ, टेकु, कालिमाटी, नख्खु, थापाथली, भक्तपुर, कोटेश्वर, लगनखेललगायत १४ स्थानमा सहुलियत मूल्यका पसल सञ्चालन गर्ने तयारी गरेका छन्।

खाद्य संस्थानले घटस्थापनादेखि खसी र च्याङ्ग्रा बिक्री सुरु गर्ने जनाएको छ ।

संस्थानले मुस्ताङबाट एक हजार च्याङ्ग्रा र दाङ तथा हेटौडाबाट एक हजार खसी–बोका ल्याउने जनाएको छ । चाडपर्वमा दुग्ध विकास संस्थानले घिउमा प्रतिलिटरमा १० रूपैयाँ र पनिरमा प्रतिकिलो १० रूपैयाँ छुट दिने जनाएको छ।

संस्थानका सूचना अधिकारी सुवासप्रसाद भट्टराईले संस्थानले चाडपर्वको अवसरमा माग अनुसारको दुग्ध पदार्थ उपलब्ध गराउन नसकेको बताए । ‘उपभोक्ताको माग अनुसार आपूर्ति गर्नै सकेका छैनौँ,’ उनले भने, ‘माग धेरै छ । पर्याप्त उत्पादन गर्नै सकेका छैनौं।’

उनका अनुसार घिउ र पनिरको माग अत्याधिक छ । साल्ट ट्रेडिङ लिमिटेडले एक किलो नुनमा दुई रूपैयाँ छुट दिएको छ । काठमाडौं उपत्यकामा करिब ५० हजार खसी तथा च्याङ्ग्रा आवश्यक पर्ने अनुमान छ । संस्थानले भने दुई हजार मात्रै बिक्री गर्ने भएको छ । ‘दुई हजार खसी र च्याङ्ग्राले उपत्यकामा धान्दैन । तर, बजार मूल्य नियन्त्रण गर्न भए पनि सीमित मात्रामा खसी र च्याङ्ग्रा वितरण गर्न लागेका हौँ,’ सूचना अधिकारी सापकोटाले भने, ‘यो बजार नियन्त्रणको सांकेतिक अभियान हो ।’ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले काठमाडौं उपत्यका र उपत्यका बाहिर सहुलियत पसल सञ्चालन गर्ने तयारीमा जुटेको बताए । ‘गत वर्षसम्म चार सरकारी संस्थानले मात्रै सहुलियत मूल्यका पसल सञ्चालन गर्दै आइरहेका थिए,’ उनले भने, ‘सरकारले यस वर्ष निजी क्षेत्रसँग सहकार्य गरेर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारीमा जुटेका छौं।’

प्रकाशित: १२ आश्विन २०७५ ०७:२३ शुक्रबार

सहुलियत_मूल्यका_पसल चाडपर्व