समाज

सिभिल अस्पतालमा सवा सय शय्याको नयाँ भवन बन्ने

सिभिल अस्पतालकाे नयाँ भवन शिलान्यास समाराेहमा सामान्य प्रशासनमन्त्री लालवाबु पण्डित, चिनियाँ राजदूत युङ हङलगायत । तस्बिरः नागरिक

काठमाडौं – सिभिल अस्पताल निर्माण गरिदिएको चीन सरकारले अस्पतालको स्तरोन्नती परियोजनाअन्तर्गत १ अर्ब ३१ करोडमा आधुनिक सेवा सहितको १ सय १७ शय्याको नयाँ भवन बनाइदिने भएको छ।

विस्तार परियोजनाको नेपालका लागि चिनियाँ राजदूत युङ हङ र सामान्य प्रशासन मन्त्री लालवावु पण्डितले बुधबार एक कार्यक्रमबीच शिलान्यास गरे । परियोजनाअन्तर्गत सिभिल अस्पताल परिसरमा १ सय १७ शय्याको  तीन तले भवनको शिलान्यास गरिएको हो । नयाँ बन्ने भवनमा चार वटा मोडलुर अपे्रसन थिएटर हुनेछ।

चीन सरकारले गत वर्ष नेपालले तातोपानी सडक निर्माण परियोजनाकै क्रममा अस्पताल विस्तार तथा स्तरोन्नती परियोजना सम्झौता गरेको थियो । शिलान्यास समारोहमा चिनियाँ राजदूत युङ हङले चीनकै सहयोगमा निर्मित अस्पतालले छोटो अवधिमा गुणस्तरीय सेवा दिन सफल भएकोमा खुसी व्यक्त गरिन् । उनले अस्पतालमा अन्तर्राष्ट्रिय स्तरको चिकित्सा सेवा उपलब्ध हुनु सुखद भएको बताइन्।

‘चीन सरकारले पुननिर्माणको क्षेत्रमा २५ परियोजना सम्झौता गरेकोमा ५ वटा स्वास्थ्य क्षेत्रकै छन्,’ राजदूत युङ हङले भनिन् । तिनमा सिभिल अस्पताल स्तरोन्नती परियोजना, विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका लागि उपकरण, मनाङ र सिन्धुपाल्चोककमा एक/एक वटा अस्पताल निर्माण तथा आयुर्वेद अनुसन्धान केन्द्र स्थापनालगायतका परियोजना छन् । राजदूत युङ हङले नेपालमा राजनीतिक स्थिरता सुरु भएको र अब चीनले नेपालको आर्थिक तथा सामाजिक विकास र समृद्धिमा सहयोग पुर्याउने प्रतिबद्धता जनाइन्।

शिलान्यास कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले चीन सरकारले सिभिल अस्पतालको विकास र विस्तारको लागि पुर्याएको योगदानको प्रंशसा गरे । ‘चीनले स्वास्थ्य क्षेत्रमा दिएको योगदानले नेपालीको स्वास्थ्यमा उल्लेखनीय योगदान पुर्याएको छ,’ मन्त्री पण्डितले भने । सिभिलको सेवा उदाहरणीय भएको भन्दै आफूले पनि सोही अस्पतालमा उपचार गराउने गरेको बताउँदै मन्त्री पण्डितले अस्पताललाई विशेषज्ञ चिकित्सा शिक्षाको लागि मेडिकल कलेजका रुपमा स्थापना गर्ने इच्छा जाहेर गरे । ‘अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन केन्द्रित छौं,’ उनले भने।

सो अस्पतालको निर्माण दश वर्षअघि चीन सरकारले गरिदिएको हो । हाल चीनले अस्पतालको स्तरोन्नतिको लागि परियोजना सुरु गरेको हो । परियोजना अवधि १५ महिना छ । अस्पताल निर्माणको लागि चीनबाटै इन्जिनियर तथा अन्य प्राविधिक आएका छन् । भवन निर्माणका लागि १ अर्ब ३१ करोड लाग्ने प्रारम्भिक अनुमान छ।

नेपाल सरकारका वहालवाला तथा अवकाशप्राप्त कर्मचारीलाई सेवा दिने उद्देश्यले स्थापित अस्पतालले सर्वसाधरणलाई पनि सेवा दिँदै आएको छ । १ सय ५६ शैड्ढयाको अस्पतालमा हाल बोनम्यारो प्रत्यारोपण, हाडनजोर्नी, स्त्रीरोग, दन्त, शल्यक्रिया, हेमाटोलोजी, बालरोग, मेडिसिन, नाक–कान–घाँटी उपचार सेवा उपलब्ध छ।

प्रकाशित: ११ आश्विन २०७५ ०२:१७ बिहीबार

सिभिल_अस्पताल सवा_सय_शय्याको_नयाँ_भवन