समाज

विपद् व्यवस्थापन सम्बन्धि संयुक्त अभ्यास सुरु

काठमाडौं- नेपाली सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा विपद् व्यवस्थापन सम्बन्धि अभ्यास 'युनिटि अफ इफोर्ट IV' सुरु भएको छ। अभ्यासको प्रधानसेनापति पूर्णचन्द्र थापाले शुभारम्भ गरे।

यस प्रकारको संयुक्त अभ्यासले प्राकृतिक विपदमा छोटो समयभित्र गरिने उद्धार कार्य तथा जनधनको न्युनतम क्षतीको लागि अपनाईने कार्यविधिको अध्ययन, प्रयोग र अभ्यास गरी क्षमता अभिबृद्धि गर्न मद्दत पुर्‍याउने नेपाली सेनाले जनाएको छ।

अभ्यासको दौरान खोज र उद्धारको प्रयास तथा घाईतेहरुको उपचार प्रक्रिया सम्बन्धी काल्पनिक परिस्थिति अनुसारको अभ्यासहरु उपत्यका पृतना हेडक्वाटरमा हुने छ।

मित्रराष्ट्र अमेरिका, बंगलादेश, बेलायत, बेल्जियम, चीन, क्यानडा, डेनमार्क, अभ्यासमा ईजरायल, भारत, माल्दिभ्स, फिलिपिन्स, सिंगापुर र श्रीलंका गरि जम्मा १३ देशका ६४ प्रतिनिधिहरु सहभागि छन्। अभ्यास यही असोज १२ गतेसम्म संचालन हुने छ। साथै उक्त अभ्यासमा नेपाल सरकारका बिभिन्न मन्त्रालय, नेपाली सेना, अन्य सुरक्षा निकायहरु, विभाग, रेडक्रस लगायत विपद् ब्यवस्थापनमा कार्यरत संघ, संस्थाहरुको समेत गरि २३८ जनाको सहभागिता रहेको छ। विपद व्यबस्थापन सम्बन्धि यस्तो अभ्यास नेपालमा सन् २०११ बाट नेपाली सेनाले गर्दै आएको छ।

 

प्रकाशित: ९ आश्विन २०७५ ०९:४३ मंगलबार

विपद् सेना अभ्यास