समाज

हिंसा अन्त्य माग गर्दै ज्ञापनपत्र

काठमाडौ– महिला हिंसाका घटना बढदै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न प्रेरणा महिला समूहले स्युचाटार प्रहरी प्रभागमा ज्ञापनपत्र बुझाएको छ।

नागार्जुन नगरपालिका क्षेत्रमा पछिल्ला दिनमा महिला विरुद्ध हिँसाको घटना बढिरहेको भन्दै त्यसलाई नियन्त्रण गर्ने प्रभावकारी कदमचाल्न प्रभागमा ज्ञापनपत्र बुझाइएको छ। गतसोमबार एक अशक्त महिलामाथि बलात्कार भएकोमा त्यस्ता घटना दोहोरिन नदिन प्रहरी सक्रियता जरुरी देखिएको समूहकी अध्यक्ष सृजना सुवेदीले बताइन्।

 मादकपदार्थ तथा लागूऔषध सेवनजस्ता कारणले पनि महिलामाथि हिँसा बढने गरेको भन्दै लागूऔषध तथा मादक पदार्थ सेवनका गतिविधिलाई नियत्रित गर्न माग गरिएको छ।

‘ राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुनले महिला विरुद्धका सबैखाले हिंसा अन्त्य गर्ने व्यवस्था गरेका छन्,’  ज्ञापनपत्र बुझाउँदै सुवेदीले भनिन्,‘ तर स्थानीयस्तरमा अभै पनि महिला सुरक्षित हुने अवस्था बन्न नसक्नु दुखदायी हो। यो अवस्था अन्त्य गर्न प्रहरी प्रशासन, स्थानीय संघसंस्था तथा सर्वसाधारणको थप सकृयता आवश्यक हुन्छ।’ 

प्रकाशित: ८ आश्विन २०७५ ०९:२४ सोमबार

प्रेरणा_महिला_समूह हिंसा ज्ञापनपत्र