समाज

भूकम्प पीडितको कथा सुनेर बेलायती सांसद भावुक

काठमाडौं– नेपाल भ्रमणमा रहेका बेलायती सांसद स्टेफन गेथिन्स नेपालका भूकम्प पीडितको कथा सुनेर भावुक बनेका छन्। 

२०७२ सालको भूकम्पमा परेर चमत्कारिक रुपमा बाँचेका नेपालीहरुको कथामा बनेको वृत्तचित्र फिल्म ‘भाग्यले बाँचेकाहरु’का पात्रहरुलाई प्रत्यक्ष रुपमा भेटेका सांसद गेथिन्स उनीहरुको कथा सुनेर भावुक बनेका हुन्। ‘यो मेरो नेपाल भ्रमणको सबैभन्दा उपलब्धिमुलक भेट भयो’, उनले भने। 

नेपालको ७ दिने भ्रमणका लागि गत सोमबार काठमाडौं आइपुगेका गेथिन्सले शनिबार ‘भाग्यले बाँचेकाहरु’का पात्र दैलेखका रमेश खत्री, मकवानपुरकी प्रिया विश्वकर्मा र लमजुङकी बबिता सेढाईंलाई भेटेका थिए। काठमाडौंको नयाँ बसपार्कमा भूकम्पमा परेर खत्रीले दुबै खुट्टा गुमाएका थिए। यसैगरी, काठमाडौँको काभ्रेस्थलमा डेरा गरी बसेको घरले किच्दा विश्वकर्माको एउटा खुट्टा गुमेको थियो। सेढाईं भने धरहराबाट खसेर बाँचेकी हुन्।

‘भाग्यले बाँचेकाहरु’ टिमका तर्फबाट सांसद गेथिन्स, लिटिल शेर्पा फाउन्डेशनका जेम्स ल्याम्ब र वेस्टमिन्स्टर फाउन्डेशन फर डेमोक्रेसीका सिनियर कार्यक्रम अधिकृत एलेक्शजेन्डर सिमलाई शनिबार काठमाडौंमा सम्मान गरिएको थियो। सांसद गेथिन्सकै पहलमा गतबर्ष भूकम्पको दोस्रो बार्षिकी पारेर ‘भाग्यले बाँचेकाहरु’ बेलायतको संसदमा प्रदर्शन गरिएको थियो। 

प्रकाशित: ६ आश्विन २०७५ १२:४३ शनिबार

भूकम्प_पीडित बेलायती_सांसद