समाज

पेट्रोलियम वितरणमा कोटा तोकियो

काठमाडौं – ढुवानीकर्तालाई अत्यावस्यकीय सेवा ऐन लगाएरै भएपनि पेट्रोलिम पदार्थ आपूर्ति सहज बनाउने भन्दै आएको सरकारले पेट्रोलियम पदार्थको विक्री वितरणमा कोटा तोकेको छ । ट्याकंर चालकहरु आन्दोलित भएपछि ढुवानी आपूर्ति असहज भएको भन्दै नेपाल आयल निगमले पेट्रोल, डिजेलको बिक्री वितरणका लागि कोटा निर्धारण गरेको हो।
पेट्रोलियम पदार्थ भित्रने मुख्य नाका रक्सौल डिपोबाट ३ दिनदेखि इन्धन आपूर्ति हुन सकेको छैन।

निगमका अनुसार मोटरसाइकल, स्कुटरलाई बढीमा पाँच लिटर मात्र पेट्रोल उपलब्ध हुनेछ।अन्य हल्का सवारी साधन कार, भ्यान, आदिलाई बढीमा १५ लिटर पेट्रोल, डिजेलबाट चल्ने छोटो दुरीका सवारी साधनलाई बढीमा ५० लिटर र लामो दुरीका सवारी साधनलाई बढीमा १ सय लिटरसम्म डिजेल दिन कोटा तोकिएको छ।

निगमले नेपाल पेट्रोलियम डिलर्स एसोसिएशन र वाग्मती पेट्रोलियम डिलर्स एसोसिएशनलाई तोकिएको कोटाअनुसार विक्री वितरण गर्न निर्देशन दिएको हो।पेट्रोलियम पदार्थ उपलब्ध गराउँदा एम्बुलेन्स, स्कुल बस तथा सरकारी सवारी साधनलाई उच्च प्राथमिकता दिन निगमले निर्देशन दिएको छ।

मुलुकी संहिताको कतिपय प्रावधानले अन्यायमा परेको भन्दै ट्याकंर चालकहरुले  पेट्रोलियम पदार्थको ढुवानी रोक्दै आएका छन ।आयात रोकिएसँगै काठमाडौंसहित देशभर पेट्रोलियम आपूर्ति असहज भएको छ। उपभोक्ताहरु लामो लाईनमा बस्नुपर्ने अवस्था आएको छ। 

निगमले सामान्य अवस्थामा ७ दिनका लागि पुग्ने इन्धन स्टक रहने बताउने गरेको छ । तर आयात रोकिएको तीन दिन नबित्दै वितरणमा कोटा तोकेको हो। निगमका अनुसार अहिले सिलीगुढी डिपोबाहेक अन्य नाकाबाट पेट्रोलियम ढुवानी हुन सकेको छैन।  

प्रकाशित: ५ आश्विन २०७५ ०८:३५ शुक्रबार

पेट्रोलियम कोटा नेपाल_आयल_निगम