समाज

सूचना आयोगको आदेश पालना नभएको भन्दै विद्यार्थी आन्दोलित

सर्लाही– राष्ट्रिय सूचना आयोगको आदेश पालना नभएको भन्दै सर्लाहीको एक विद्यार्थी संगठनले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। तत्कालिन जिल्ला शिक्षा कार्यालय एवं हाल जिल्ला प्रशासन कार्यालय अन्तर्गत शिक्षा विकास तथा समन्वय इकाईले राष्ट्रिय सूचना आयोगको आदेश अनुसार सूचना नदिएको भन्दै राष्ट्रिय जनता पार्टी नेपाल निकट राष्ट्रिय विद्यार्थी संघले चरणबद्ध आन्दोलन घोषणा गरेको हो।

जिल्लास्थित शिक्षक–शिक्षिका, कर्मचारी तथा बालविकास सहयोगी कार्यकर्ताहरुको नियुक्ति मिति सहितको प्रमाणित विवरण, सामुदायिक विद्यालय, मदरसा आदिको नाममा विभिन्न मितिमा शिक्षा बिभागबाट के–कति र कहिले राहत शिक्षक कोटाहरु आएको तथा उक्त कोटाहरु बिद्यालयहरुमा कहिले वितरण भएको र हाल कुन–कुन बिद्यालयमा के–कति र कुन तहमा कोटाहरु रिक्त रहेको प्रमाणित विवरण माग गर्दै निवेदन दर्ता गरिएकामा तत्कालिन शिक्षा कार्यालयले वेवास्ता गरेको संघका केन्द्रीय उपाध्यक्ष मिथलेश यादवले बताए। 

आव २०६६/०६७ देखि हालसम्म जिल्ला शिक्षा समिति सर्लाहीको विभिन्न निर्णयहरुको प्रमाणित विवरण, आव २०७३/०७४ र आव २०७४/०७५ मा स्वीकृत बजेट, संचालनमा ल्याइएका विभिन्न तालिम तथा कार्यक्रमहरुको प्रमाणित विवरणका साथै फ्रिज गरिएको शिर्षक र सो को बजेटको प्रमाणित विवरण तथा आव २०७३/०७४ र आव ०७४/०७५ मा बिद्यार्थीहरुको नाममा आएका विभिन्न छात्रवृत्तिको प्रमाणित विवरण माग गरिएकामा शिक्षा कार्यालयबाट कुनै सुनुवाई नभएको उनले गुनासो गरे। राष्ट्रिय सुचना आयोगमा निवेदन दर्ता गराएपछि २०७४ मंसिर १९ गते जिल्ला शिक्षा अधिकारीको नाममा सात दिनभित्र माग गरिएको सूचना दिन लिखित आदेश भएपनि कुनै सुनुवाई नभएपछि बाध्य भएर चरणबद्ध आन्दोलन घोषणा गरिएको विद्यार्थी संघले जनाएको छ। 

‘३ वटा प्रमुख जिल्ला अधिकारी तथा शिक्षा अधिकारी परिवर्तन भईसके’, यादवले भने, ‘तर सूचना आयोगको आदेशको पालना नै भएन, अनि आन्दोलन गर्न बाध्य भयौं।’ राष्ट्रिय विद्यार्थी संघ सर्लाहीले घोषणा गरेको आन्दोलन अनुसार असोज ४ देखि १२ गतेसम्म जिल्लाभरका सामुदायिक तथा संस्थागत मावि एवं उच्च मावि, क्याम्पस आदि शैक्षिक संस्थाहरुको प्रअ र बिद्यार्थीहरुसँग सम्वाद गर्ने, १४ गते अन्तरक्रिया कार्यक्रम, १५ गते सदरमुकाम मलंगवामा दबाबमूलक टुकी बत्ति सहितको -याली, १६ गते पत्रकार सम्मेलन गर्दै अनिश्चितकालिन रिले अन्सनमा बस्ने कार्यक्रम सार्वजनिक गरिएको छ। 

प्रकाशित: २ आश्विन २०७५ १०:०२ मंगलबार

सूचना_आयोग आदेश विद्यार्थी अान्दाेलन