समाज

करेन्ट लागेर एक जनाको मृत्यु

ताप्लेजुङ - ताप्लेजुङमा विद्युतको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। जिल्लाको मिक्वाखोला गाउँपालिका वडा नं. ३ लिबाङ बस्ने ३० वर्षीय मनकुमार शेर्पाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार स्थानीय हाँडीखोला जलविद्युत परियोजनाको फलामे पोलमा चढेर काम गरिरहेको अवस्थामा करेन्ट लागेर शेर्पाको मृत्यु भएको हो। शेर्पाका दाजु विचारी शेर्पाले भाइको मृत्यु भएपछि परियोजनाका सिनियर अपरेटर सोही वडा बस्ने सनबहादुर लिम्बु र सहायक अपरेटर मानवीर लिम्बुविरुद्ध प्रहरीमा जाहेरी दिएका छन्। यता प्राविधिक ज्ञान नभएको व्यक्तिलाई काम गर्न लगाएका कारण भाइको मृत्यु भएको भनी दाजुले अपरेटर लिम्बुद्वय विरुद्ध कर्तव्य ज्यानको मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक काशीनाथ रेग्मीले बताए।

शेर्पाद्वारा दर्ता गरिएको मुद्दामा कर्तव्य ज्यानसँगै क्षतिपूर्तिको माग पनि गरिएको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए। रेग्मीका अनुसार किटानी जाहेरीपछि लिम्बुद्वयलाई पक्राउ गरी अनुसन्धान थालिएको छ। शेर्पाको शव भने जिल्ला अस्पतालमा पोष्टमार्टम गरी परिवारलाई वुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

 

प्रकाशित: १ आश्विन २०७५ ०९:३७ सोमबार

करेन्ट मृत्यु