समाज

'घरेलु मदिरामा कण्डम र प्याड'

सुर्खेत - प्रहरीले सुर्खेतका विभिन्न स्थानबाट नियन्त्रणमा लिएकाे अवैध घरेलु मदिरामा महिनावारी हुँदा प्रयोग गरेका प्याड, मोजा, चप्पल लगायतका दुषित कुरा प्रयाेग गरिएकाे पाइएकाे छ। एक साताको अवधिमा उपत्यकाका विभिन्न स्थानबाट बरामद गरिएको मदिरामा स्वास्थ्यका लागि अत्यन्तै हानिकारक वस्तुहरु राखिएको पाइएको हो।

‘एक साताको अवधिमा दुई हजार लिटर घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ बरामद गर्‍याैं' जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले भने, ‘कच्चा पदार्थ भित्र महिनावारी हुँदा प्रयोग गरिएका प्याड, मोजा, चप्पल, मुसा लगायत थिए। एसपी रजौरेका अनुसार घरेलु मदिराको कच्चा पदार्थमा स्वास्थ्यका लागि हानिकारक वस्तुहरु मिसाउने गरिएको हुन्छ। ‘केही समयअघि बरामद गरिएको मदिरामा मुसा र कण्डम समेत फेला परेको थियो’ एसपी रजौरेले भने, ‘यसको नियन्त्रणका लागि उपत्यकाका साथै जिल्लाभर घरेलु मदिरा नियन्त्रण अभियान सञ्चालन गरिरहेका छौं।’

एक साताको अवधिमा तीन सय ३० लिटर तयारी मदिरा, आठ सेट मदिरा बनाउन प्रयोग गरिने भाँडा पनि बरामद गरिएको डिएसपी श्यामसिंह चौधरीले जानकारी दिए।

 

प्रकाशित: ३० भाद्र २०७५ ११:२३ शनिबार

घरेलु_मदिरा