समाज

राजविराज–कुनौली सडक निर्माण अलपत्र

राजविराज–कुनौली सडकअन्तर्गत सप्तरीको तिलाठीस्थित खाँडो नदीमा पुल निर्माण अलपत्र परेपछि छेउबाट जोखिम मोलेर नदी वारपार गर्र्दै सर्वसाधारण। तस्बिर : जितेन्द्र/नागरिक

तिलाठी (सप्तरी) - सप्तरी सदरमुकाम राजविराजलाई जिल्लाको दक्षिणी भेगसँग जोड्ने एकमात्र राजविराज–कुनौली सडक खण्डअन्तर्गत पर्ने खाँडो नदीमा पुल निर्माण कार्य थालिएको ४ वर्षभन्दा बढी भयो। ०७१ असार ३१ मा सम्झौता भएको उक्त पुल निर्माणको अन्तिम समयसीमा २०७३ असार ३० सम्म निर्धारण गरिएको थियो यद्यपि अन्तिम म्याद गुज्रेको २ वर्षभन्दा बढी बितिसक्दा समेत पुलका ३ वटा पिलर निर्माण पूरा हुन सकेका छैनन्।

ठेकेदार कम्पनीले गतिलो डाइभर्सनसम्म निर्माण गर्न नसक्दा असारदेखि असोजसम्मको बर्खायाममा बर्सेनि उक्त सडक खण्डमा यातायात अवरुद्ध हुने गरेको छ। शुक्रबारबाट पुनः उक्त सडक अवरुद्ध हुन पुगेको छ। तिलाठी–कोइलाडी गाउँपालिका वडा नम्बर १ अन्तर्गत पर्ने उक्त पुल समयमा निर्माण हुन नसक्दा र ठेकेदारले डाइभर्सनसमेत नबनाउँदा यातायात अवरुद्ध हुन पुगेको वडाध्यक्ष दिनेश्वर मिश्रले बताए। ‘खाँडो नदीमा कहिले बन्ला त पुल? अनि सडक कहिले सुचारु होला?,’ दक्षिणी भेगका अधिकांश स्थानीयले यस्तै प्रश्न गर्छन्। भारतले दसगजाछेउमै बाँध बनाएका कारण नदीको पुरानो मुहान पुरिएर पुरानो पुल प्रयोगविहीन भएको छ। पुरानो पुल पुरिएपछि पुलभन्दा करिब १० मिटर पश्चिममा झन्डै २ सय मिटरजति सडक कटान भएको छ। सोही ठाउँमा तत्कालका लागि डाइभर्सन निर्माण र पुरानो पुल भएकै छेउमा नयाँ पुल निर्माणलगायतका लागि करिब साढे ५ करौड रुपैयाँको टेन्डर काठमाडौंका पप्पु र मृत सञ्जीवनी जेयूले कबुलेका छन्।

दुई वर्षयता ठेकेदार पनि फरारजस्तै रहेको स्थानीय बताउँछन्। निर्माणस्थलमा रहेको ठकेदार कम्पनीको क्याम्प सुनसान छ, उपकरण तथा अन्य सामग्री पनि ठेकेदारले लगिसकेका छन्।

स्थानीयले जतिसुकै दबाब दिए पनि ठेकेदार कम्पनीले हालसम्म त्यहाँ उपयुक्त डाइभर्सन बनाएको छैन। दुई वर्षयता ठेकेदार पनि फरारजस्तै रहेको स्थानीय बताउँछन्। निर्माणस्थलमा रहेको ठकेदार कम्पनीको क्याम्प सुनसान छ, उपकरण तथा अन्य सामग्री पनि ठेकेदारले लगिसकेका छन्। पुल निर्माण कार्य पूरा गर्ने २०७३ असार ३० अघि ०७२ वैशाखबाटै ठेकेदार कम्पनी निर्माणस्थलबाट बेपत्ता रहेको स्थानीयको भनाइ छ। उनीहरूका अनुसार हालसम्म ठेकेदारले १० प्रतिशत पनि काम गर्न सकेको छैन। उक्त कामका लागि ५ करोड ४२ लाख ९५ हजार ६ सय १२ रुपैयाँ १० पैसामा ठेकेदार कम्पनीले निर्माण कार्य पूरा गर्नेगरी सम्झौता गरेको हो।

‘खाँडो नदीको पुल निर्माण कार्य वर्षौंदेखि अलपत्र छ, ठेकेदार कम्पनीको बदमासीका कारण यस भेगका सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य छन्,’ वडाध्यक्ष मिश्रले भने, ‘पछिल्लो ४/५ वर्षदेखि हामी यस्तै नियति भोग्दै आएका छौं, वर्षाबाढीका कारण आवतजावत पनि ठप्प हुनेगर्छ, हिउँदमा नदी सतह बालुवैबालुवाले पुरिँदा सवारीसाधन आवागमन झन् असजिलो भएर आउँछ।’

गत वर्षको भीषण बाढीपश्चात् नेपाली सेना तथा सशस्त्र प्रहरीको सहयोगमा तत्कालका लागि बोरा पाइलिङ्ग गरेर डाइभर्सन निर्माण गरिएको थियो। तर, यस वर्ष बाढीले उक्त डाइभर्सन बगाएपछि स्थानीयको यात्रा थप कष्टकर भएको तिलाठी–कोइलाडी गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत राजुकुमार झाले बताए। ‘उक्त सडक भएर गुड्ने सिटी रिक्सा तथा साना टेम्पु पुलनजिक दैनिकजसो दुर्घटनामा पर्ने गरेका छन्,’ उनले भने, ‘उक्त पुलको अर्को विकल्प पनि छैन, जोखिमपूर्ण यात्रा बाध्यता नै भएको छ।’

‘कान्छा रामको रवैया पनि उस्तै’
एकातिर पप्पु–मृत संजीवनीले थालेको पुल निर्माण कार्य अलपत्र हुँदा राजविराज–कुनौली सडकको तिलाठी–रम्पुरा खण्ड अवरुद्ध हुने गरेको छ भने अर्कोतिर सोही सडकअन्तर्गत सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ को बरहीवीरपुर तिलाठी खण्ड भने अर्का ठेकेदार कम्पनी कान्छाराम कन्स्ट्रक्सनका कारण पछिल्लो तीन दिनयता अवरुद्ध रहेको वडाध्यक्ष विनोदकुमार यादवले जानकारी गराए।

कलभर्ट निर्माणका लागि सडकअन्तर्गत रहेको पुरानो कलभर्ट भत्काइए पनि उपयुक्त डाइभर्सन निर्माण गर्न नसक्दा उक्त बाटो अवरुद्ध भएको वडाध्यक्ष यादवको भनाइ छ। उनले भने, ‘ठेकेदारले पुरानो कलभर्ट भत्काइदिए, सुक्खामा छेउको खेत भएर सर्वसाधारण तथा सवारीसाधन आवतजावत हुने गथ्र्यो, दुई दिनयता भएको वर्षाले खेत जलमग्न र हिलाम्य छ, अहिले त वारपार गर्न सक्ने अवस्था पनि छैन।’

हुलाकी परियोजनाअन्तर्गत पर्ने १० किलोमिटर लामो राजविराज–कुनौली सडक निर्माण कार्य कान्छाराम कन्सट्रक्सनले गरिरहेको छ। सडक निर्माणका लागि कान्छारामले ४१ करोड ६२ लाख २८ हजर ४ सय ८७ रुपैयाँमा ठेक्का कबोल गरेका छन्।

१० किलोमिटर लामो यस सडक खण्डमा अहिले आधा दर्जनजति साना पुल तथा कलर्भट निर्माण कार्य भइरहेको अवस्था छ। यद्यपि ती स्थानमा उपयुक्त डाइभर्सन नबनाइएको स्थानीय सन्तोष झाले बताए। ‘निर्माणाधीन स्थानमा छेउतिर सानो डाइभर्सनजस्तै बनाइएको छ तर त्यहाँ पानीनिकास लागि पाइपसम्म राखिएको छैन’, उनले भने, ‘जिल्लाको दक्षिणी भेगलाई सदरमुकामसँग जोड्ने एकमात्र सडक हो यो, वर्षा आरम्भ भएपछि यो बाटो नै अवरुद्ध हुने निश्चित छ।’

पुरानो सडकको दुवैतिर माटो भर्ने नाममा थुपारिएको माटोका कारण समान्य वर्षामा पनि पानी जमेर हिलाम्य भएको छ। उक्त बाटो भएर आवतजावत गर्ने मोटरसाइकल तथा साना सवारीसाधन दिनहुँ दुर्घटनामा पर्ने गरेका छन्। जेठको पहिलो सातामा समान्य वर्षापश्चात् भएको बजाज टेम्पो दुर्घटनामा परी तिलाठीका फुलेश्वर मिश्रको मृत्यु भएको थियो भने अन्य भारतीय र नेपाली गरी ६ जना गम्भीर घाइते भएका थिए।

सडक हिँड्न लायक नभएपछि आफूहरूको जनजीवन समस्याग्रस्त बन्न पुगेको तिलाठी–१ का अञ्जनीकुमार दासको भनाइ छ। ‘यो सडक भनेको हाम्रो लाइफलाइन हो’, उनले भने, ‘दैनिक उपभोगका सामग्री, अत्यावश्यक औषधि आपूर्तिलगायत समस्या सडकले उब्जाइदिएको छ । खोलामा बाढी आएका बेला त जोखिमै मोलेर वारपार गर्नुपर्ने बाध्यता छ।’ सप्तरीको मुख्य भन्सार नाकालाई सदरमुकामसँग जोडने एकमात्र सडक पनि पनि यही नै हो। यद्यपि ठकेदार कम्पनीहरूको लापरबाही तथा सडक विभाग र स्थानीय प्रशासनलगायत सरोकारवाला निकायको निरीहताका कारण निर्माणाधीन सडकमा आवागमन असहज तथा जोखिमपूर्ण बनेको स्थानीयको गुनासो छ।

प्रकाशित: ३० भाद्र २०७५ ०२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App