समाज

बेनी–जोमसोम सडक छियाछिया

पहिराेले क्षतिग्रस्त म्याग्दीकाे बेनी र मुस्ताङकाे जाेमसाेम जाेड्ने सडक। तस्बिरः नागरिक

पोखरा/म्याग्दी - हिमालपारिको जिल्ला मुस्ताङ पुग्ने एकमात्र स्थलमार्ग पहिरो र कालिगण्डकी नदीको कटानले छियाछिया परेको छ। पहिरोले बगेको सडक थप पहिरो नझरे पहिलेकै अवस्थामा फर्किन कम्तीमा एकसाता लाग्ने सडक आयोजनाले जनाएको छ । विस्तार र स्तरोन्नति क्रममा रहेको सडकको ठाउँठाउँमा भीषण पहिरो गएको छ। सबैभन्दा ठूलो पहिरो म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेभीरमा खसेको छ। काभ्रेभीरमा बर्सेनि पहिरो जाने गरेको छ। बेनी–जोमसोम खण्डमा पर्ने काभ्रेभीर हिमालपारिको जिल्ला मुस्ताङका लागि चुनौती बन्दै गएको छ। त्यसबाहेक सडकका ठाउँठाउँमा रहेका पुलसम्मको एप्रोच(पुल अड्ने संरचना वा ठाउँ) नै पहिरोले बगाएको छ।

बेनी–जोमसोम–कोरला आयोजना प्रमुख नरेन्द्र सुवेदीका अनुसार यसपटक कालिगण्डकी नदी उर्लेर आउँदा बेनी–जोमसोम खण्ड छियाछिया परेको छ। ‘अहिलेसम्मकै बढी पानी परेको अनुमान छ । बेनी–जोमसोम खण्ड पूरै अस्तव्यस्त छ,’ उनले भने, ‘ठाउँठाउँमा भीषण पहिरो खसेको छ। कालिगण्डकी नदीको कटान उत्तिकै छ।’ उनका अनुसार माथिल्लो भेगमा यसपालि अचाक्ली पानी परेको र त्यसले नदीमा बहाव बढेको थियो। त्यही बहावले कटान गर्दै जाँदा सडक खसेको उनले बताए।

सुवेदीका अनुसार काभ्रेभीरको पहिरो पन्छाउनमात्र कम्तीमा ५ दिन लाग्छ। अहिले पनि बेनी–जोमसोम खण्डमा ४–५ ठाउँको पहिरो पन्छाउन सकिएको छैन । ‘अगाडि पहिरो पन्छाउँदै गयो, पछाडि उस्तै भीषण पहिरो खस्ने गरेको छ,’ उनले भने, ‘यसले सडक सुचारु गर्न समस्या भएको छ।’ आयोजनाले बेनी–जोमसोम (७६ किमि) र जोमसोम–कोरला (११० किमि) लाई दुई खण्डमा बाँडेर स्तरोन्नति गर्दैछ। त्यसअनुसार बेनी–जोमसोम खण्डमा दोहोरो सवारी चल्ने गरी कालोपत्रे हुनेछ भने जोमसोम–कोरला खण्डको स्तरोन्नति हुनेछ।

विस्तारको काम भइरहँदा पहिरो र कटानले सडक ध्वस्त बनाएको उनले बताए। ‘यतिबेला जोमसोम आउजाउ जोखिमपूर्ण छ । पैदल हिँडेर आउजाउ गर्न निकै मुस्किल छ,’ उनले भने, ‘कतिबेला माथिबाट पहिरो खस्ने हो भन्ने त्रास छ ।’ केही दिनपछि सुरु हुने सोह्रश्राद्धमा श्राद्ध गर्न कागबेनी पुग्ने श्रद्धालु र माथिल्लो भेगमा पाकेको स्याउ ढुवानी गर्नमा बढी समस्या देखिएको उनले बताए। ‘यस्तै झरी परिरहे सोह्रश्राद्ध गर्न कागबेनी पुग्ने श्रद्धालु जान सक्ने छैनन्,’ उनले भने । त्यसबाहेक पाकेर टिपेको स्याउ ढुवानीको तयारी हुँदै गर्दा सडक पूरै अस्तव्यस्त छ । यतिबेला मुस्ताङमा स्याउ पाकेर टिप्न थालिएको छ । स्याउ बोकेका कतिपय सवारी बीचबाटोमै अलपत्र परेका छन्।

‘जसोतसो एकठाउँको पहिरो खोल्यो, अर्काे ठाउँमा जान्छ, यो क्रम चलिरहेको छ,’ सुवेदीले भने। मुस्ताङमा सबैगरी झन्डै ५ सय मिटरजति सडक अस्तव्यस्त रहेको उनले बताए। ‘कालिगण्डकीको कटान निकै डरलाग्दो छ । तलबाट कटान बढ्दै जाँदा माथिबाट पहिरो खस्ने क्रम रोकिएको छैन,’ उनले भने, ‘वर्षायाममा निकै नै सास्ती भएको छ । कमजोर भौगोलिक खण्ड रहेको र अप्ठेरो भीरमा बडेमानको पहिरो खसेको छ ।’ जस्तोसुकै प्रविधि भए पनि योपटकको विपद् रोक्ने आँट कसैसँग नरहेको उनले बताए।

मुस्ताङका डिएसपी महेन्द्र खड्काले पनि स्थलमार्गको पहुँच साह्रै नै असहज भएको बताए । उनका अनुसार पैदलयात्रा पनि जोखिमपूर्ण छ । मौसम खराब हुँदा हवाईमार्ग पनि बन्द छ। ‘तल्लो भेगमा अझ बढी सडक क्षति भएको छ । ठाउँठाउँमा पहिरो झरेको छ, पुलको एप्रोच नै बगेको छ,’ उनले भने, ‘सडक अवरुद्ध हुँदा आउजाउ त असहज भएको छ नै, इन्धन आपूर्ति गर्न नसकेर सडक सुचारु गर्ने उपकरण सञ्चालन गर्न पनि समय लागेको छ।’

सडक क्षतविक्षत भएपछि मुक्तिनाथ दर्शन गर्न पुगेका भारतीयसहितका पर्यटक अप्ठेरोमा परेको व्यवसायीले बताए। पहिरोका कारण बाटोमै फसेका ७५ जना भारतीय तीर्थयात्रीको बिहीबार हेलिकप्टरमार्फत उद्धार गरिएको छ । अन्नपूर्ण गाउँपालिका–३ दानामा अलपत्र रहेका तीर्थयात्रीलाई बिहीबार चारवटा हेलिकप्टरमार्फत उद्धार गरिएको दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताए । ‘सडक अवरुद्ध भएपछि मुस्ताङको थासाङ गाउँपालिका हुँदै दानाको काभ्रेभीरसम्म पैदलै आएका रहेछन्। त्यसपछि अघि बढ्न सक्ने अवस्था नभएपछि हेलिकोप्टरबाट उद्धार गरियो,’ उनले भने, ‘काभ्रेभीरमा खसेको पहिरो पन्छाउन नसक्दा तीन घन्टा पैदलयात्रा गर्नुपर्छ । जुन निकै नै जोखिमपूर्ण छ। पर्यटकले जोखिम मोल्न चाहदैनन्।’

बेनी–जोमसोम सडक हुँदै धेरै भारतीयसहित तेस्रो मुलुकका पर्यटक मुस्ताङ जाने गरेपछि मौसम अनुकुल नहुँदा हवाई सेवा पनि नियमित हुन नसकेको स्थानीयले बताए । पर्यटकको सिजन सुरु भएसँगै तेस्रो मुलुकबाट समेत धमाधम पर्यटक भित्रिन थालेका छन्। तर, पहुँच सहज नहुँदा बीचमै अलपत्र छन्। सडक खण्डअन्तर्गत तातोपानीको पोखरी, नागढुंगा, दानाको गुईठे, काभ्रेभीर, मुस्ताङको थासाङ् गाउँपालिका–४ घाँसा, सिर्कु, मार्फाको स्याउबारी आसपासमा व्यापक कटान गरेको छ।

लगातारको वर्षा, भिरालो जमिन, भूमिगत पानी, कमजोर भूबनावट र कालिगण्डकी नदीको कटानले सडक छियाछिया परेको छ भने मोटरेबल पुलसमेत जोखिममा छन्। उत्तरी म्याग्दी हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने एकमात्र राजमार्गको आधा दर्जन ठाउँमा तल र माथिबाट खसेको पहिरोले भदौको पहिलो सातादेखि नै सडक नियमित सञ्चालन हुन सकेको छैन। भारी वर्षापछिको बाढीपहिरोले म्याग्दी र मुस्ताङमा थुप्रै स्थान चर्किएको र भासिएको छ। स्थलमार्ग अप्ठेरो भएपछि मुस्ताङ जाने पर्यटक अन्नपूर्ण गाउँपालिका–३ दानाबाट पैदलयात्रा गरी पैरोथाप्ला, कोप्चेपानी हुँदै वारपार गर्नुपर्ने बाध्यता रहेको अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर पुनले बताए। दानाबाट करिब तीन घन्टाको पैदलयात्रा गरेर मुस्ताङ जाने गरिए पनि पैदलमार्गमा समेत जोखिम रहेको उनले बताए।

आयोजना प्रमुख सुवेदीका अनुसार अहिले बेनी–जोमसोम–कोरला खण्ड स्तरोन्नति भइरहेको छ। तल्लो खण्ड (बेनी–जोमसोम) को करिब ३० प्रतिशत काम सकिएको छ। वर्षाले गत जेठपछि नियमित रूपमा काम गर्न नसकेको उनले बताए। ‘विस्तार भइसकेको सडक पनि भत्केको छ । अब त बेनी–जोमसोमको ५ प्रतिशत काम पहिरोका कारण खेर गएको छ,’ उनले भने, ‘माथिल्लो भेग (जोमसोम– कोरला) को भने झन्डै ६५ प्रतिशत काम सकिएको छ । तल्लो भेगमा भएको प्रगतिलाई पनि नोक्सान पु-याएको छ।’

विस्तार र कालोपत्रे गर्ने तल्लो खण्ड २ अर्ब ४० करोड रुपैयाँ लागतको आयोजना हो। स्तरोन्नति मात्र गरिने माथिल्लो खण्ड २ अर्ब ६० करोड रुपैयाँको आयोजना हो। माथिल्लो भेगमा भने पानी कम परेकाले प्रगति पनि बढी नै छ। २०७६ मंसिरसम्म काम सक्नुपर्ने भए पनि तल्लो खण्डमा पुगेको क्षतिले समयमै काम सक्न चुनौती थपिदिएको उनले बताए । ‘पानी कम पर्ने भएकाले मुस्ताङमा वर्षायाममा पनि काम गर्न सकिन्छ भन्ने थियो। तर, यसपटक अचाक्ली वर्षाले क्षति पु-याएको छ,’ उनले भने।

प्रकाशित: ३० भाद्र २०७५ ०२:३१ शनिबार

मुस्ताङ बेनी–जोमसोम_सडक पहिराे