समाज

पत्रकार बस्नेत पाँच दिनपछि रिहा

काठमाडौं– पाँचदिनदेखि पक्राउ परेका ‘खोजतलास’ साप्ताहिक तथा खोजतलास न्यूज डटकमका प्रधानसम्पादक राजु बस्नेत शुक्रबार रिहा भएका छन्। समाचार साभार गरी अनलाइनमा प्रकाशित गरेको आरोपमा उनी गएको सोमबारदेखि पक्राउ परेका थिए।

बस्नेतले ललितपुरको हरिसिद्धिमा अवस्थित ‘हरिसिद्धि इटा तथा टायल कारखाना’को जग्गामा नेकपाका सांसदहरू पम्फा भुसाल र राजकाजी मर्हजनको संलग्नतामा समाचार लेख्दै आएका थिए। पछिल्लो पटक उनले सोही विषयममा दृष्टि  साप्ताहिकले लेखेको समाचार साभार गरेका थिए। उक्त समाचार प्रकाशन गरेलगत्तै उनी पक्राउ परेका थिए। 

शुक्रबार काठमाडौं जिल्ला अदालतको आदेशपछि उनी रिहा भएका छन्। अदातलको आदेश अनुसार पत्रकार बस्नेतलाई रिहा गरेको महानगरीय प्रहरी परिसर जावलाखेलका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए। उनका अनुसार बस्नेतलाई अदालतले सामान्य तारिखमा रिहा गरेको छ। 

दृष्टि साप्ताहिकमा प्रकाशित ‘जनप्रतिनिधि कि जग्गा दलाल’ भन्ने शीर्षकको समाचार उनले आफ्नो अनलाइन खोजतलास डटकममा साभार गरेका थिए। त्यो समाचारले विद्युतीय कारोबार ऐन उल्लंघन गरेको भन्दै प्रहरीले उनलाई सोमबार पक्राउ गरेको थियो।

प्रकाशित: २९ भाद्र २०७५ १३:३० शुक्रबार

प्रेस_स्वतन्त्रता पत्रकार_राजु_बस्नेत रिहा