समाज

कैलालीमा बस दुर्घटना, २ जनाको मृत्यु

टीकापुर– कैलालीको लम्कीचुहा नगरपालिका–३, बल्चौरमा शुक्रवार अपरान्ह भएको यात्रुबाहक बस दुर्घटनामा २ जनाको ज्यान गएको छ। 

प्रहरीका अनुसार सोही ठाउँका साइकल यात्री स्थानीय कृष्ण बादीका १२ वर्षका छोरा अनिल बादी र धनगढी उपमहानगरपालिकाका २५ वर्षका पतरुप तामाङको मृत्यु भएको हो। उनीहरुको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 

लम्कीस्थित ट्राफिक कार्यालयका इञ्चार्ज नवराज शाहीले दुर्घटनामा घाइते हुने छ जना सबै नेपाली सेनाका तालिमे रहेको बताए। घाइते मध्ये दार्चुलाका १९ वर्षका विक्रम बोहराको अवस्था गम्भिर रहेको बताइएको छ। घाइते सबैको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भैरहेको छ।

कैलालीको चिसापानीबाट लम्कीतर्फ आउँदै गरेको कर्णाली रिभर यातायातको से १ ख ११८८ नम्बरको बस दुर्घटनामा परेको हो। साइकलमा सवार मृतक बादीले अचानक बाटो काटेपछि बस अनियन्त्रित भएर दुर्घटना भएको ट्राफिक इञ्चार्ज शाहीले जानकारी दिए। साइकलसँगै बादी बसमुनी च्यापिएका थिए।

प्रकाशित: २९ भाद्र २०७५ १२:५३ शुक्रबार

दुर्घटना यात्रुबाहक_बस मृत्यु