समाज

पर्यटन प्रवर्द्धनका लागि सिजा यात्रामा मन्त्री बुढा

जुम्ला– जुम्लाको पर्यटकीय संभावनाको अध्ययन गर्न कर्णालीका पर्यटनमन्त्री नन्दसिंह बुढा सिजा यात्रामा छन्। उनी खस सभ्यताको जननी, नेपाली भाषाको उद्गम स्थल सिजा उपत्यकाको अवलोकन भ्रमणमा जुटेका हुन। सुर्खेत जुम्ला हवाई सेवा शुरु गरेर जुम्ला पुगेका मन्त्री बुढा कर्णालीका पर्यटकीय गन्तव्यको पहिचान गरेर पर्यटनमैत्री वातावारणको सिर्जना गर्ने बताउँछन्। 

उनले सिजाको कनकासुन्दरी मन्दिरको अवलोकन गरेर पर्यटन आकर्षण गर्ने खालका कार्यक्रम तर्जुमा गर्ने बताए। उनले सिजा यात्राका क्रममा उनी कनका सुन्दरी मन्दिर, बुडुमन्दिर, पाण्डवगुफाको स्थलगत अवलोकन गरे। गाउँमै पर्यटकीय संभाव्यता अध्ययन गर्न पुगको मन्त्री बुढालाई स्थानीयले नाग्म गमगडी सडकलाई स्तरउन्नती गर्दै पर्यटक आवागमनमा सहजता ल्याउनको लागि माग गरे।  

आन्तरिक मामिला तथा कानुन मन्त्रीका स्वकीय सचिव ललित महत सिजा क्षेत्रमा भएका सबै पर्यटकीय स्थलको अध्ययन भ्रमण गरिएको बताउँछन्। उनले भने, ‘कर्णाली प्रदेश सरकारले रारा कर्णाली पर्यटन वर्ष २०७५ घोषणा गरेकोले यहाँका पर्यटन गन्तव्यको प्रभावकारी बनाउन थालेको छ।’ उनका अनुसार पर्यटनमन्त्री बुढाले जुम्लाकै सबैभन्दा ठुलो र गहिरो गिडिदह कोपदयात्रा मार्गको  अनुगमन गरेका छन्। यो दह दिनभर विभिन्न रंग फेर्ने भएकोले पर्यटन आकर्षणको महत्वपूर्ण गन्तव्य बन्ने देखिएको छ। तातोपानी गाउँपालिका स्थित तातोपानी सामुदायिक लज बनाउने विषयमा स्थानीय सरकारसंग छलफल गरेका छन्। उनले पर्यटक मैत्री तातोपानी धारा निर्माण गर्नको लागि जनप्रतिनिधी र स्थानीयलाई आग्रह गरेका छन्।  

पर्यटनमन्त्री बुढासंग सांसद पदमबहादुर रोकाया समेत सहभागी छन्। जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले सिजा क्षेत्रको पर्यटन प्रवर्द्धन कसरी गर्न सकिन्छ भन्ने विषयमा जान्नको लागि सिजा यात्रामा रहेको बताए। उनले भने, ‘सिजा क्षेत्रबाहेक जुम्लाका अरु पर्यटकीय क्षेत्रको समेत अध्ययन गर्ने भएका छन्। कर्णाली सरकारले जुम्लाको पर्यटन प्रवर्द्धनको लागि डेढ करोड रुपैयाँ विनियोजन गरेको छ। 

प्रकाशित: २९ भाद्र २०७५ ०९:३३ शुक्रबार

कर्णाली पर्यटन_प्रवर्द्धन सिजा