समाज

‘मिथ्या समाचार प्रजातन्त्रका लागि घातक’

काठमाडौ– सामाजिक सञ्जाल तथा अनलाइनमा मिथ्या (फेक) समाचार प्रवाह हुँदा प्रजातान्त्रिक मूल्य मान्यतामा खतरा पर्ने सरोकारवालाले बताएका छन्।  

सेन्टर फर मिडिया रिसर्च संस्थाले आयोजना गरेको ‘फाइटिङ मिस/डिस इन्फर्मेसन टु स्ट्रेन्थ डेमोक्रेसी (प्रजातन्त्र बलियो बनाउन मिथ्या समाचार बिरुद्धको लडाई) कार्यक्रममा सरोकारवालाले कुनै पक्षको निहित स्वार्थ पूर्ति गर्ने हिसावले परिचालित सञ्चारमाध्यम प्रजातन्त्रका लागि खतरा हुने बताए। 

प्राध्यापक पी खरेलले मिथ्या समाचारले तत्काल चर्चा बढी पाएपनि दीर्घकालमा त्यसले समाज र सञ्चार गृह आफैलाई हानी गर्ने बताए। ‘फेक समाचारहरु बढी सेयर होलान’, उनले भने, ‘तर मिथ्या सय पटक दोहो¥याए पनि मिथ्या नै हुन्छ। सत्य बन्न सक्दैन।’ कार्यक्रममा पहिलोपोस्ट डटकमका सम्पादक उमेश श्रेष्ठले नेपाली समाजमा समाचार स्रोतको ख्याल नगरी शिर्षकका आधारमा समाचार शेयर हुने गरेको औल्याएका थिए।  

रत्न राज्य क्याम्पसका राजनीति शास्त्रका प्राध्यापक दीपक गजुरेलले सञ्चार माध्यम सधै नकरात्मक समाचारमा मात्र केन्द्रित हुन नहुने उल्लेख गरे। कार्यक्रममा राजनीतिशास्त्रकी प्राध्यापक मिना वैद्यसहित विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीको उल्लेख्य सहभागिता थियो।

प्रकाशित: २९ भाद्र २०७५ ०८:५८ शुक्रबार

मिथ्या_समाचार प्रजातन्त्र