समाज

बागमतीकाे कटान राेक्न अस्थायी स्पर निर्माण

सर्लाही - नेपाली सेना सहित तीनवटा सुरक्षा निकायको टोलीले बागमती नदीको कटान रोक्न अस्थायी स्पर (बहाव कम गर्ने ठोक्कर) बनाएको छ। नेपाली सेना रणशेर गणका ५०, नेपाल प्रहरीका २० र सशस्त्र प्रहरीका २० जना सुरक्षाकर्मीले दुई दिन लगाएर बागमतीको कटान क्षेत्रमा अस्थायी स्पर निर्माण गरेको हो। बागमती वारी सर्लाहीतर्फ पर्ने रौतहट जिल्ला दुर्गाभगवती गाउँपालिका–५, बडहरवा गाउँमा बागमतीले कटान तिब्र पारेपछि सुरक्षाकर्मीको सहायतामा बालूवा भरिएको बोरा हालेर अस्थायी स्पर निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी द्रोर्ण पोखरेलले जानकारी दिए।

‘हाल रौतहटको दुर्गाभगवती गाउँपालिकाको ५ नं. वडा पर्ने बडहरवा गाउँ छेउको खेतियोग्य जमिन बागमतीले व्यापक कटान गरिरहेको छ’, प्रजिअ पोखरेलले भने, ‘बागमती सोझै मनुष्मारामा मिस्सिएर सर्लाहीतर्फको बलरा नगरपालिका बगाउने खतरा देखिएकाले तत्कालका लागि अस्थायी स्पर निर्माण गरिएको हो।’ साविकमा निकै पूर्व रहेको बागमती नदी धार परिवर्तन गरेर पश्चिमतर्फ लागेपछि हाल नदी वारी समेत रौतहट जिल्लाको भूभाग रहेको छ।

पश्चिमबाट सोझै पूर्वतर्फ नदी सोझिएको र रौतहटको बडहरवा गाउँ हुँदै सर्लाहीको बलरा नगरपालिका समेत डुबाउने खतरा बढेपछि स्पर निर्माणमा सर्लाही तर्फबाट नेपाली सेना सहितका सुरक्षाकर्मी खटाएर नियन्त्रण प्रयास गरिएको प्रजिअ पोखरेलले बताए। ‘अर्कोवर्ष भारतीय सहयोगमा स्थायी ढंगले स्पर लगायत कटान नियन्त्रणका कामहरु हुनेरहेछ’, प्रजिअ पोखरेलले भने, ‘यसवर्ष हुनसक्ने ठूला क्षति नियन्त्रणका लागि बालुवा भरिएको बोरा राखेर अस्थायी स्पर बनाईएको हो।’

बडहरवा गाउँका इस्लाम मन्सुरीले हालसम्म बागमतीले गाउँ छेउको हजार विगाहभन्दा बढी खेतीयोग्य जमिन कटान गरिसकेको जानकारी दिए। यसैवर्ष मात्र १२ विगाहभन्दा बढी जमिन कटान गरेको र नदी गाउँ छेउमै आउन लागेको मन्सुरीले जानकारी दिए।

प्रकाशित: २८ भाद्र २०७५ ११:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App