धादिङ - धमिलो पानी पिउँदा–पिउँदा दिक्क गजुरी बजारका बासिन्दा घरघरमै कञ्चन पानी आउन थालेपछि दंग छन्। ‘धमिलो पानीले आजित थियौं,’ स्थानीय शान्ति परियारले भनिन् ‘अहिले शुद्धीकरण प्रविधि प्रयोग गरी पानी वितरण हुँदा हामी ज्यादै खुसी छौं।’
यसअघि यहाँका बासिन्दा खोलाकै धमिलो पानी पिउन बाध्य थिए। भएका सीमित सार्वजनिक धाराले नधान्ने भएका कारण स्थानीय बासिन्दा पिउने पानी लिन घण्टौं धाएर खोलामा जान बाध्य थिए । ‘धमिलो पानी पिउँदा आफू, बालबच्चा तथा घरका अन्य सदस्य कतिपटक बिरामी भयौं भनिसाध्य छैन,’ परियारले भनिन् ‘टाढाबाट पानी ओसार्नुपर्दा सास्ती पनि उत्तिकै थियो।’
अहिले घरघरमा धारा जडान गरी स्वच्छ पानी वितरण हुन थालेपछि गजुरी बजारका बासिन्दाले पानीको दुःखबाट मुक्ति पाएका हुन् । पानी निर्मलीकरण गर्ने प्लान्ट स्थापना गरी खोलाको पानी शुद्धीकरण गरेर उपभोक्ताका घरघरमा वितरण गरिएको हो। गजुरी गाँउपालिका र गजुरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको समेत गरेर १ करोड ५० लाख रुपैयाँको लागतमा शुद्ध खानेपानीको व्यवस्था गरिएको वडाध्यक्ष राजकुमार पण्डितले बताए । उनका अनुसार हाल ५ सय ५७ वटा निजी धारो वितरण गरिएको छ।
स्थानीय विमला खतिवडा बल्ल धमिलो पानीबाट मुक्ति पाइएको बताउँछिन्। ‘सार्वजनिक धारामा जहिले धमिलो आउने गथ्र्योे,’ उनले भनिन्, ‘अहिले बर्खामा समेत कञ्चन पानी आउँछ।’
सात किलोमिटर टाढा खारापानी र कटुवा खोलाबाट पानी ल्याएर प्रशोधन गरी वितरण गरिएको गजुरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकी व्यवस्थापक सुनिता पाण्डेले जानकारी दिइन्। ‘शुद्ध खानेपानी वितरण गर्ने सरकारको नीति र स्थानीयको आवश्यकतालाई ध्यानमा राखी खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धादिङले शुद्धीकरण प्रविधिमार्फत् पानी वितरणका लागि आर्थिक तथा प्राविधिक सहयोग गरेको इन्जिनियर हिराकाजी मर्हजनले बताए।
उनका अनुसार यो प्रविधिबाट धमिलो पानीलाई पनि कञ्चन पार्न सकिन्छ। यो प्रविधिअन्तर्गत पानी जम्मा गर्ने पोखरीलाई चार भागमा विभाजन गरिन्छ । पहिलो पोखरीलाई कोगुलेसन च्याम्बर, दोस्रो पोखरीलाई सेडिमेन्टेसन च्यानल, तेस्रो पोखरीलाई रिजेन्टर रकिङ फिल्टर र चौथौ पोखरीलाई स्लो स्यान्ड फिल्टर भनिन्छ । यसरी फिल्टर गर्दा पानी निर्मलीकरण भई सफा र स्वच्छ हुने इन्जिनियर महर्जन बताउँछन्।
सरकारी कार्यालय, निजी घर सबैमा मिटर प्रणाली लागू गरिएको छ भने उपभोक्तालाई गुणस्तरीय पानी वितरण गर्न चार कर्मचारी परिचालन गरिएको छ । न्यूनतम १० हजार लिटर पानीको ९० रुपैयाँ तोकिएको छ।
प्रकाशित: २८ भाद्र २०७५ ०३:४३ बिहीबार