समाज

पत्रकार बस्नेतमाथि साइबर अपराधमा अनुसन्धान

काठमाडौं – महानगरीय प्रहरी परिसर जाउलाखेलले खोजतलास साप्ताहिक तथा खोजतलास न्युज डटकमका प्रधानसम्पादक राजु बस्नेतलाई पक्राउ गरी साइबर अपराध ऐनअन्तर्गत अनुसन्धान सुरु गरेको छ।

उनले दृष्टिन्युज डटकममा प्रकाशित समाचार आफ्नो पत्रिका तथा अनलाइनमा प्रकाशित गरेका थिए । उनले समाचारमा ‘जनप्रतिनिधि कि जग्गा दलाल’ भन्ने हेडलाइन राखेका थिए।

सुशील खनालले जाहेरी दिएको आधारमा उनी पक्राउ परेका हुन् । उनलाई पक्राउ गरी हाल सरकारी वकिलको कार्यालय ललितपुरमा बयान लिने काम भइरहेको प्रहरीले जनाएको छ । विद्युतीय कारोबार ऐनअन्तर्गतको मुद्दामा अनुसन्धानका लागि बस्नेत पक्राउ परेका हुन्।

नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहालले समाचार प्रकाशनमा चित्त नबुझे उजुरी गर्ने निकाय प्रेस काउन्सिल हुँदाहुँदै प्रहरीले साइबर क्राइम मुद्दा लगाएर समग्र पत्रकारलाई तर्साउन खोजेको आरोप लगाए । ‘बस्नेतले प्रकाशन गरेको समाचारमा चित्त नबुझे उजुरी गर्ने निकाय प्रेस काउन्सिल हो।

सो समाचारबारे प्रेस काउन्सिलमा उजुरी गरेको पाइँदैन’, सचिव दाहालले भने । उनका अनुसार सााभार गरेको समाचारमा उनको गल्ती देखिँदैन, पहिला कसले प्रकाशन गरेको थियो भन्नेतिर प्रहरीको ध्यान गएको छैन । नयाँ कानुन लागू भएपछि नै ८० भन्दा बढी पत्रकारले दुःख पाइसकेको दाहालले बताए।

प्रकाशित: २७ भाद्र २०७५ ००:५४ बुधबार

राजु_बस्नेत पत्रकार साइबर_अपराध