समाज

बाढी पीडितलाई बन्यो आश्रयस्थल

नेपालगन्ज- राप्तीको बाढीबाट २०७४ साउन अन्तिम साता जिल्लाको राप्तीसोनारी–३ बैजापुरमा एकैघरका तीन बालिकाले अकालमा ज्यान गुमाए, भने हजारौं घरपरिवार विस्थापित भए। दुषित पानी पिउँदा विभिन्न रोगको संक्रमण नै फैलियो। पीडित परिवार महिनौं दिनसम्म विद्यालयमा आश्रय लिएर बसे। बाढी प्रभावित क्षेत्रमा आश्रय घरको अभाव हुँदा पीडितहरुले सास्ती खेप्नुपर्‍यो। गाउँमा अब बाढीको विपत्ती आईहालेपनि पीडित परिवारले ठूलो सास्ती बेहोर्नुपर्ने छैन।

 बाढी प्रभावित राप्तीसोनारीको वडा नम्बर ३ को खैरहनी, वडा नम्बर ४ को पशरामपुर र वडा नम्बर ५ को ललही गाउँमा सुविधायुक्त आश्रय निर्माण गरिएको छ। आश्रय घर बनेपछि प्रभावित क्षेत्रका स्थानीय बासिन्दा हर्षित भएका छन्। ‘पोहोरसाल बाढी आउँदा मुस्किलले ज्यान त बचाईम्, तर बस्ने ठाउँको अभावमा कष्टकर जीवन बिताउनु परेको थियो,’ राप्तीसोनारी–५ का स्थानीय भर्थे थारुले भने ‘अब गाउँमै आश्रय बनेपछि धेरै राहत हुने भयो।’

बाढी आएको समयमा बस्ने ठाउँको समस्या परिरहेका बेला सुविधायुक्त आश्रय भवन दाताले बनाईदिएपछि खुसी लागेको राप्तीसोनारी–३ बैजापुरका अगुवा तुलसीराम थारुले बताए।

राप्तीसोनारी गाउँपालिकासँगको सहकार्यमा सेभ द चिल्ड्रेन र ब्याकवार्ड सोसाईटी एजुकेशन(बेस)ले ‘बाढी प्रभावित बालबालिका तथा तिनीहरुको परिवारलाई पुर्नलाभ कार्यक्रम’ अन्तर्गत यि पुर्वाधार निर्माण गरेका हुन्। बाढी प्रभावितलाई लक्षित गरेर पुर्वाधार निर्माण र विभिन्न सामग्री सहयोग गरिएको बेसका केन्द्रिय सदस्य संगीता चौधरीले जानकारी दिईन्। उनले भनिन्, ‘बाढी आउने बित्तिकै अब कहाँ गएर बस्ने भन्ने पीडितलाई लाग्ने चिन्ता हटेको छ, आश्रय घरमै गएर पीडित परिवारहरु बस्नेछन्।’

केन्द्रिय सदस्य संगीताका अनुसार बाढी पीडितका लागि सुरक्षित उच्च घर निर्माण, घर पुनःनिर्माणमा सहयोग, डकर्मी तालिम, विपद पूर्वतयारी तथा प्रतिकार्य योजना, उच्च धारा र चर्पी निर्माण तथा मर्मत, सिचाई तथा बाढीको रोकथाम, डिपिङ ट्याकी, सौर्य पम्प लगायत  सहयोग गरिएको छ। संस्थाले उपलब्ध गराएको सामान प्रयोग गरेर स्थानीय उपभोक्ता समितिले ज्याला र श्रमदान गरेर आश्रय भवन निर्माण गरेको बेसका कार्यबाहक अध्यक्ष खगिसरा रावतले बताईन्। ‘नवनिर्मित आश्रय घरको संरक्षण तथा सम्वद्र्धन गर्न स्थानीय स्तरमै समिति बनाईनेछ,’ उनले भनिन् ‘अरु बेला आवश्यकता अनुसारको काममा प्रयोग गर्ने र बर्खायामका बेलामा बाढी प्रभावित बस्ने ठाउँको रुपमा प्रयोग गरिनेछ।’

बाढी प्रभावितका लागि बनाइएका भौतिक संरचनाले विपद ब्यवस्थापनमा ठूलो सहयोग पुर्याउने बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलको विश्वास छ। निर्मित भौतिक संरचनाको मंगलबार स्थलगत निरीक्षण गरिसकेपछि जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवम् समेत रहेका प्रजिअ भुजेलले भने, ‘निर्मित संरचनाको उपयोग बाढी पीडितले जब गर्नेछन्, त्यसबेला नै उनीहरुले ठूलो राहत पाएको महसुस गर्नेछन्।’ निर्मित भौतिक संरचनाको संरक्षण र उपयोग बाढी प्रभावित स्थानीयले नै गर्नुपर्ने उनको सुझाव छ। बाढी प्रभावित अन्य क्षेत्रमा पनि यस्ता आश्रय घर बनाउन दातृ संस्थालाई आग्रह गरे।

राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले प्राकृतिक विपदलाई रोक्न नसकेपनि क्षति न्युनिकरण गर्न सकिने उल्लेख गर्दै भने, ‘बाढीका कारण अघिल्लो वर्ष धनजनको क्षति भयो, अब आउने बाढीलाई रोक्न नसकेपनि सुरक्षित हिसाबले बस्न मिल्ने आश्रय भवन बनेका छन्, यसको उपयोग र संरक्षण स्थानीय स्तरका बाढी पीडितले नै गर्नु हुनेछ।’

 

प्रकाशित: २६ भाद्र २०७५ १२:०६ मंगलबार

बाढी_पीडित आश्रय