समाज

रसुवागढी जोड्ने नाका पहिरोले अवरुद्ध

रसुवा–खोपाङभीरमा झरेको पहिरो। तस्बिर : हिमनाथ/नागरिक

रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक पहिरोका कारण अवरुद्ध भएको छ।

धुन्चे स्याफ्रु सडक खण्डको खोपाङभीरमा सोमबार साँझ पहिरो झरेपछि सडक अवरुद्ध भएको हो। यस स्थानमा बाढीले क्षति पु-याउँदा करिव दुई हप्तासम्म सवारी साधन सञ्चालन हुन सकेको थिएन। गत सोमबार व्लाष्टिङ गरेर सडक खुलाएको थियो।

धुन्चेदेखि रसुवागढीसम्मको ३० किलोमिटर सडक क्षेत्रको तीन स्थानमा बाढी र पहिरोको कारण सडकमा क्षति पुगेपछि करिव एक महिनासम्म कारोबार ठप्प भएको थियो। पहिरो पन्छाउने कार्य मंगलबार बिहानैदेखि सुरु गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए।

बाढीपहिरोले क्षति गरेको सडक मर्मत गरेसँगै गत मंगलबारदेखि नाकामा सवारी साधन सञ्चालन सुरु भएको थियो। पाँच दिनमा उक्त नाकाबाट करिव १० करोड राजश्व सङ्कलन भएको थियो। चाडपर्वको सामग्री आयात सुरु भएको कारण सडक खुलाउन जोड दिनुपर्ने ब्यापारी पुरुषोत्तम पौडेलले बताए।

प्रकाशित: २६ भाद्र २०७५ ०३:३७ मंगलबार

अन्तर्राष्ट्रिय_व्यापारिक_नाका रसुवागढी पहिरो