समाज

टीकापुर घटनाका साक्षीसँग बकपत्र लिइँदै

धनगढी- झण्डै तीन वर्षअघि भएको टीकापुर घटनासँग सम्बन्धित मुद्दाका साक्षीहरुको कैलाली जिल्ला अदालतमा बकपत्र लिने काम आइतबारबाट शुरु भएको छ। 

अाइतबार तीन जना साक्षीको बकपत्र लिइएको जिल्ला अदालतका श्रेस्तेदार इन्द्रबहादुर कठायतले बताए। यो मुद्दामा ८२ जनासँग बकपत्र लिनुपर्ने र बिदाको दिनबाहेक मुद्दाको विषयमा निरन्तर काम अघि बढ्न लागेको कठायतले बताए। 

यसअघि पहिलो पटक गएको साउन ३० गते तोकिएको पेशीमा वादी प्रतिवादी पक्षका व्यक्तिसँग साक्षी बुझ्ने आदेश अदालतले दिएको थियो। 

कैलाली जिल्ला अदालतका न्यायधीश पर्शुराम भट्टराईको इजलासमा टीकापुर घटनाको मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढेको हो। अदालतमा उक्त मुद्दाको सुनुवाइ प्रक्रिया शुरु भएपछि सर्वसाधारणको चासोसमेत बढेको छ। 

टीकापुरमा भएको घटनासँग सम्बन्धित मुद्दा सरकारवादी फौजदारी हो। यही भदौ ७ गते टीकापुर घटना भएको तीन वर्ष पुगेर चौथो वर्ष लागेको छ। 

घटनाका अभियुक्तमध्य २३ जना पुर्पक्षका लागि कैलाली कारागारमा रहेकोमा एक जना(रेशमलाल चौधरी) केन्द्रीय कारागारमा रहेका छन्। अभियुक्तका आश्रित दुई बालकलाई पोखराको बाल सुधार गृहमा राखिएको छ। 

टीकापुर घटनाका ५८ जना अभियुक्त रहेकोमा २२ जना अझै फरार रहेका छन्। थरुहट/थारुवान राज्यको माग गर्दै भएको आन्दोलनको क्रममा विसं २०७२ भदौ ७ गते भएको झडप र हिंसामा परी एक नाबालक र सात प्रहरीको ज्यान गएको थियो। रासस

प्रकाशित: २४ भाद्र २०७५ १५:५७ आइतबार

टीकापुर_घटना अदालत बकपत्र