समाज

चार जिल्लाका चेपाङ भेला भएर मनाए ‘न्वागी’

न्वागी पर्वका अवसरमा ढ्यांग्रो बजाएर न्वागी फलाक्दै पाण्डे बा, पाण्डे आमा। तस्बिरः सविता/नागरिक

चितवन - घरमा नयाँ अन्न भित्रिएको खुसीयालीमा मनाइने छोनाम (न्वागी) पर्व चेपाङले मनाएका छन्। चितवन, धादिङ, मकवानपुर र गोर्खाका चार जिल्लाका चेपाङहरु चितवनको शक्तिखोरमा भेला भएर न्वागी मनाएका हुन् । घर –घरमा मनाइने पर्वलाई राष्ट्रिय रुपमा मनाउन कार्यक्रम गरिएको नेपाल चेपाङ संघका केन्द्रिय अध्यक्ष जितेन्द्र चेपाङले बताए।

केही वर्ष अघिदेखि सामुहिक रुपमा न्वागी मनाउन थालिएको उनले जानकारी दिए। ‘पहिले आ–अफ्नो तरिकाले गाउँघरमा मनाउने गरिन्थ्यो,’ उनले भने, ‘गाउँघरका साथै सबैको सहभागितामा राष्ट्रिय स्तरमा मनाउन भनेर कार्यक्रम आयोजना गरिएको हो।’ पर्व मनाउन चेपाङ जातिको बसोबास रहेको जिल्लाहरुबाट कार्यक्रममा सहभागी भएको उनले जानकारी दिए।

घरमा नयाँ बाली भित्राएपछि न्वागी मनाउने प्रचलन चेपाङ जातिमा छ। भदौ २२ गते न्वागी पर्व मनाउने चलन रहेको चेपाङ समुदायकी ‘पाण्डे आमा’ रामजीमाया चेपाङ बताउँछिन्। हरेक वर्ष घिरौला, निबुवा, घैया धान, पिँडालु,, गाभाजस्ता नयाँ अन्नबाली, तरकारी खान पूजा गर्नुपर्ने उनले बताइन्। ‘नयाँ बाली खान यो पूजा गरेर पर्व मनाइन्छ,’ उनले भनिन्, ‘यो पूजा नगरेसम्म नयाँ बाली खान पाइँदैन।’

राति केरा, पिँडालु, घिरौला, निबुवा, घैया धान, जे नयाँ बाली घरमा भित्रिन्छ सबै राखेर पूजा गरेर ढ्यांग्रो बजाउँदै न्वागी फलाकिने उनले बताइन्। बेलुकीदेखि सुरु भएको पूजा रातैभरि गरेर बिहान सुझाइबुझाइ गरेपछि खानेकुरा खाने उनले जानकारी दिइन्। पूजामार्फत नै घरमा भित्रिएका अन्न कुल देवतालाई चढाउने गरिन्छ । चेपाङ जातिले मान्ने देवीदेवता, पितृ सबैलाई चढाएर मात्र खाने गरिन्छ।

चेपाङ समुदायले न्वागी पर्वमा आफूले उब्जाएको अन्नले वर्षभरि खान पुगोस् भनेर कामना गर्छन्। न्वागीमा आफन्तहरु जम्मा भएर पूजा गर्ने, ढ्यांग्रो बजाउने, आपसमा खुसीयाली साटासाट गर्छन्। न्वागी फलाक्ने काम भने पाण्डे बा वा पाण्डे आमाले गर्छन्। परम्पराअनुसार देउताले रचेर बास दिएका व्यक्तिलाई मात्रै पाण्डे बा, पाण्डे आमा भनिने चेपाङ समुदायको भनाइ छ।

चेपाङ समुदायमा पाण्डे आमा आफू मात्र भएको कालिका नगरपालिका वडा नम्बर ९ सेवांगे टोलकी ५० वर्षीया रामजीमाया बताउँछिन्। ‘पुरुष धेरै छन्, महिला अरु कोही छैनन्’ उनले भनिन्, ‘न्वागी फलाक्ने र झारफुकको काम पनि गर्छु।’ न्वागी पर्वमा सामूहिक भोज खाने, नाचगान गर्दै रमाइलो गर्ने गरिन्छ। न्वागीलाई चेपाङ जातिले सबैभन्दा ठूलो पर्वका रुपमा मनाउँछन् । दसैं, तिहार लगायतका पर्व मनाउने चेपाङ जातिले भुँयार, वायु पूजा गर्छन्।

प्रकाशित: २४ भाद्र २०७५ ०२:५६ आइतबार

न्वागी_पर्व चेपाङ