समाज

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अनुसन्धानमा अब्बल

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा आयोजित गोष्ठीमा अनुसन्धानपत्र प्रस्तुत गरिँदै। रोहित/नागरिक

धरान - व्यवस्थापकीय कमजोरीका कारण बेलाबेलामा विवादित रहने गरेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान चिकित्सा विज्ञानको अनुसन्धान (रिसर्च)मा भने नेपालकै अब्बल छ। चिकित्सा विज्ञानको पढाइ र उपचार सेवाबाहेक पनि प्रतिष्ठानमा वर्षभरि भइरहने अर्को महत्वपूर्ण कार्य भनेको चिकित्सा विज्ञानसम्बन्धी अनुसन्धान हो। यहाँका फ्याकल्टी, प्रोफेसर, विद्यार्थी सबै वर्षभरि अध्ययनअध्यापन र उपचार सेवा प्रवाह गरिरहेका हुन्छन्। सँगसँगै उनीहरू आआफ्ना विषय र क्षेत्रको अनुसन्धानमा निरन्तर जुटिरहेका हुन्छन्। हरेक वर्ष आयोजना हुने गोष्ठीमा उनीहरू अनुसन्धान निष्कर्ष प्रस्तुत गर्छन् र त्यसमाथि व्यापक छलफल गर्छन्। अहिले प्रतिष्ठानको २५ औं वार्षिकोत्सवका अवसरमा तीनदिने अनुसन्धान गोष्ठी चलिरहेको छ। जसमा २ सय ७० भन्दा बढी शोधपत्र प्रस्तुत भइरहेका छन्।

प्रतिष्ठानका प्रवक्ता एवं कार्यक्रमका संयोजक डा.पशुपति चौधरीका अनुसार रिसर्चले चिकित्सा विज्ञानको क्षेत्रमा नयाँनयाँ उपचार पद्धति पत्ता लगाउनुका साथै स्वास्थ्यको नीति निर्माणमा राज्यलाई मद्दत पु-याउँछ। ‘हिजोका दिनमा सरुवा रोगको भयावह अवस्था थियो, यस्तै रिसर्चबाट उपचार विधि पत्ता लागेर अहिले सामान्य बन्यो। अहिले फेरि नसर्ने खालका रोगबाट मानिस पीडित छन्,’ हाडजोर्नी विभागका प्रमुखसमेत रहेका डा.चौधरीले भने, ‘तसर्थ, समयसापेक्ष रिसर्च हुन सकेन भने नयाँ कुरा पत्तै लाग्दैन र आगामी दिनमा उपचार पद्धति कसरी प्रभावकारी बनाउने भन्ने थाहै हुँदैन।’ रिसर्चकै कारण कतिजनाले चुरोट पिउँथे र कतिलाई त्यसबाट क्यान्सर भयो भन्ने तथ्य देखाउँछ।

बिहीबारदेखि सुरु भएको गोष्ठीमा २ सय ७० भन्दा बढी रिसर्च पेपर प्रस्तुत भएको प्रतिष्ठानले जनाएको छ। तीमध्ये १ सय ५० वटा रिसर्चमा व्यापक छलफल भएको छ। नेपालकै सबैभन्दा धेरै रिसर्च हुने थलो बिपीकेआइएचएस नै हो, नेपालको चिकित्सा क्षेत्रको नीति निर्माणमा यहाँको रिसर्चको धेरै योगदान छ,’ वरिष्ठ चिकित्सक चौधरीले भने। चिकित्सा विज्ञान तथा सेवालाई समयानुकूल बनाउन, रोग निदान गर्न नयाँ विधि र प्रविधि अपनाउन पनि रिसर्च आवश्यक हुने चिकित्सकहरू बताउँछन्।

अनुसन्धान गर्न चाहनेले आफूखुसी गर्न भने पाउँदैनन्। निश्चित विधि र प्रक्रिया पूरा भएपछि मात्र यसका लागि स्वीकृति पाइन्छ। नेपाल हेल्थ रिसर्च काउन्सिल(एनएचआरसी)को शाखा प्रतिष्ठानमा पनि छ। रिसर्च गर्न चाहने चिकित्सक, शिक्षक तथा विद्यार्थीले प्रस्ताव लेखेर पेस गर्नुपर्छ। उनीहरूको प्रस्तावमाथि कमिटी र विज्ञले छलफल गरेर स्वीकृति दिएपछि मात्र सम्बन्धित व्यक्तिले रिसर्च गर्न पाउँछन्। ‘चिकित्सकीय मूल्य र मान्यताभित्र रहेर रिसर्च गर्नुपर्ने हुन्छ। कसैले रिसर्च भनेर नयाँ औषधि प्रयोग गरेर केही तलमाथि होला कि भनेर कमिटीले त्यस्तो प्रस्ताव छ कि छैन भनेर पहिल्यै व्यापक छलफल गर्छ। त्यसपछि मात्र स्वीकृति अनुसन्धान स्वीकृति दिइन्छ,’ प्रतिष्ठानका सहायक प्रवक्ता डा.अशोक ऐरले भने, ‘किताबमा पहिलाको कुरा हुन्छ। रिसर्चले अहिलेको अवस्था के छ, उपचार विधि के हुन्छ भनेर प्रस्तुत गर्छ।’

विसं २०५० सालमा स्थापना भएको प्रतिष्ठान पूर्व क्षेत्रका विभिन्न जिल्लाबाट बिरामी रिफर भई आउने स्वास्थ्य संस्था हो । यहाँ छिमेकी मुलुक भारतबाट समेत बिरामी उपचार गराउन आउँछन्। चिकित्सा स्नातक एमबिबिएस र बिडिएसका साथै पोस्ट ग्रयाजुएट कोर्ससमेत अध्यापन हुने प्रतिष्ठान भारतको एम्सको अवधारणामा स्थापित भएको थियो। ‘प्रतिष्ठानसँग तीनवटा मिसन र भिजन छन्। पहिलो गुणस्तरीय उपचार सेवा, दोस्रो गुणस्तरीय चिकित्सा शिक्षा र तेस्रो रिसर्च,’ प्रतिष्ठानका उपकुलपति डा.राजकुमार रौनियारले भने, ‘चिकित्सा विज्ञानको क्षेत्रमा यहाँको रिसर्चले ठूलो योगदान गरेको छ, नयाँ उपचर पद्धति स्थापित भएका छन्।’

प्रकाशित: २४ भाद्र २०७५ ०२:०६ आइतबार

बिपी_कोइराला स्वास्थ्य_विज्ञान_प्रतिष्ठान