समाज

अपडेटः बेगनासताल डुंगा दुर्घटनामा एकको  मृत्यु, पाँच जना अझै बेपत्ता

बेगनास ताल। तस्बिर : प्रशान्त लामिछाने

कास्की–बेगनास तालमा डुंगा पल्टिएर तालमा खसेकी एक महिलाको उद्दारपछि उपचारको क्रममा मृत्यु भएको छ । शनिबार दिउँसो माईत दर खान जाने क्रममा ९ जना बेगनासतालमा दुई वटा डुंगा पल्टिएको हो।
उद्दारपछि लेखनाथको मोहरियास्थित लायन्स सामुदायिक अस्पतालमा उपचारको क्रममा ५१ वर्षीया कृष्ण कुमारी कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। अझै ५ जना हराइरहेका छन्। उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
तालबाट ४ जनालाई जिवितै उद्दार गरिएको थियो। ती मध्ये एकको मृत्यु भएको हो।  उद्दार गरिएका बाँकी ३ जनाको अवस्था खतरामुक्त छ । 
प्राप्त जानकारी अनुसार डुंगाघाटबाट दुईवटा डुंगा लिएर ९ जना महिलाहरु दरखान तालको सिरान तर्फ गएका थिए । बच्चा तालमा खसेपछि आमा आत्तिदैं उद्दार गर्न तालमा हामफालेपछि दुवै डुंगाको सन्तुलन गुम्दा पल्टिएका थिए । बेगनासको लिब्दी टुडाँमा डुंगा पल्टिएपछि स्थानीय जलारी युवतीले देखेपछि उद्दार टोलीलाई खबर गरेकी थिईन् । उनीसँगै अन्य स्थानीयको सहयोगमा उद्दार थालिएको थियो । हराउनेमा दुई जना बालबालिका रहेको बुझिएको छ । प्रहरीले खोजीकार्य भईरहेको जनाएको छ ।
तालमा डुंगा सयर गर्न अनिवार्य रुपमा लाईफ ज्याकेट लगाउनुपर्छ । तर उनीहरु आफ्नै डुंगा लिएर गएको आशंका गरिएको छ । टिकट काटेर डुंगा सयर गर्नेलाई अनिवार्य लाइफ ज्याकेट दिईन्छ । आफनै डुंगा भएकै कारण उनीहरु लाइफ ज्याकेट विना नै डुंगा लिएर गएको बताइएको छ ।

 

प्रकाशित: २३ भाद्र २०७५ ०९:१४ शनिबार

बेगनास दुर्घटना मृत्यु