समाज

नेपाल रिपब्लिक मिडियाद्वारा साझाका महाप्रबन्धक शर्माविरुद्ध मुद्दा

काठमाडाैं - नेपाल रिपब्लिक मिडिया प्रालिद्वारा प्रकाशित नागरिक र रिपब्लिका दैनिकका प्रकाशक तथा सम्पादकको बेइज्जती गर्ने सरकारी स्वामित्वको साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माविरुद्ध मुद्दा दायर भएको छ।

शर्माद्वारा लिखित ‘बादलभित्रको घाम’ नामक पुस्तकमार्फत आफूहरुको बेइज्जती गरिएको दाबीसहित नेपाल रिपब्लिक मिडिया प्रालिका प्रबन्धनिर्देशक विनोदराज ज्ञवाली, नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेल, रिपब्लिका दैनिकका पत्रकार विष्णुप्रसाद अर्याल र नागरिक दैनिकका संवाददाता वसन्त खड्काले संयुक्त रूपमा उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा शुक्रबार मुद्दा दायर गरेका हुन्। यसअघि शर्मा साझाका अध्यक्ष पनि थिए।

सो पुस्तकका लेखक शर्मा तथा अनामनगरस्थित प्रकाशक समी साहित्यिक प्रतिष्ठानलाई उक्त मुद्दामा विपक्षी बनाइएको छ। मुद्दामा दुवै प्रतिवादीको मिलेमतोमा नेपाल रिपब्लिक मिडियाका प्रकाशक तथा नागरिक र रिपब्लिका दैनिकका प्रधानसम्पादक एवं पत्रकारको बेइज्जती गरी खति पु-याएकाले साबिक गाली बेइज्जती ऐन २०१६ को दफा ५ तथा वर्तमान मुलुकी अपराध संहिताको दफा ३०७ बमोजिम सजाय गरी आफूहरूको इज्जतमा पुगेको धक्काबाट व्यक्तिगत दुई करोड रुपैयाँबराबरको खति भएकाले सो खतिबापत जम्मा आठ करोड रुपैयाँ एवं मुद्दा गर्दा लागेको खर्चसमेत विपक्षीबाट भराउन माग गरिएको छ।

शर्माले ‘बादलभित्रको घाम’ नामक पुस्तकको पहिलो संस्करण गत साउनमा प्रकाशित गरी सोको पृष्ठ १८१ देखि १९१ सम्म मिडिया चमत्कार शीर्षक दिई आफूहरूको बेइज्जती हुने शब्दहरू प्रयोग गरी सम्पादकीय स्वतन्त्रतालाई समेत उपेक्षा गरेको आरोपसहित उक्त मुद्दा दायर भएको छ। ‘बिना आधार र कारण हामीमाथि पीत पत्रकारिता गरेको, पैसा बार्गेनिङ गरेको, पत्रकारिताको नांगो नाच नाचेको, कुकुर भुक्दै गर्छ, पत्रिकामा लेखेर लुतो कन्याइको मज्जा लिएको जस्ता अन्त्यन्तै तल्लोस्तरका शब्दावली प्रयोग गरी हामीलाई फट्यांग्राको समेत दर्जा दिई बेइज्जती गरेको’ दाबी मुद्दामा गरिएको छ। साझामा भएको भ्रष्टाचारविरुद्ध नागरिक र रिपब्लिका दैनिकले समाचार प्रकाशित गरेपछि शर्माले उक्त पुस्तक लेखेको पनि फिरादपत्रमा दाबी गरिएको छ।

सो पुस्तक एघार हजार पाँच सय थान छापी देशविदेशमा बिक्री गरी आफूहरूको बेइज्जत गरी इज्जतमा गम्भीर असर पारेको तथा विपक्षीहरूका कार्यबाट आफूहरूको व्यक्तिगत तथा व्यावसायिक जीवनमा नकारात्मक असर परेकाले गम्भीर क्षति बेहोर्नुपरेको दाबी फिरादपत्रमा गरिएको छ। झूटो बेहोरासहित पुस्तक प्रकाशित गरी आफूहरूको बेइज्जत गरेकाले उनलाई हदैसम्मको सजाय गर्न अदालतसँग माग गरिएको छ।

प्रकाशित: २३ भाद्र २०७५ ०१:०० शनिबार

नेपाल_रिपब्लिक_मिडिया