समाज

अटेरी र उल्झनमा फसेका पीडित पुनर्निर्माणमा बाधक

सिन्धुपाल्चोक– भूकम्पबाट सर्वाधिक क्षति बेहोरेको सिन्धुपाल्चोक पुनर्निर्माणमा अटेरी र विभिन्न व्यवहारिक तथा कानुनी उल्झनमा फसेका पीडित बाधक देखिएका छन्। उनीहरुकै कारण जिल्ला पुनर्निर्माण सम्पन्न हुनबाट पछाडि धकेदिने देखिएको छ। 

जिल्लाको पुनर्निर्माण अन्तिम चरणमा पुग्दा साढे ६ हजार पीडितले अझै घर बनाउन थालेका छैनन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) को तथ्यांक अनुसार पहिलो चरणमा लाभग्राही सूचीमा समेटिएकामध्ये ६ हजार ५ सय ५० पीडितले घरको जगसम्म खन्न नथालेका हुन्। पहिलो चरणमा ८३ हजार ६ सय ६३ पीडित लाभग्राही सूचीमा समेटिएका थिए। 

विदेशमा रहेका, विस्थापित भएका, भूकम्पले जमिन चर्काएका कारण जग हाल्ने जग्गा नभएका, सुकुम्वासी, जग्गामा बहुस्वामित्व भएका, गुठी समस्या र प्राविधिक त्रुटीको उल्झन खेपिरहेकाहरुले पुनर्निर्माण थाल्न नसकेको इकाइ प्रमुख टंकप्रसाद गौतम बताउँछन्। ‘पीडितले अझै घर बनाउन नसक्नुमा धेरै व्यवहारिक र कानुनी जटिलता देखिए,’ इकाइ प्रमुख टंकप्रसाद गौतमले नागकिसँग भने, ‘केही पीडित अटेरी र पेलाहासमेत भेटिए।’ 

इकाइका अनुसार पहिलो चरणका लाभग्राहीमध्ये ५ हजार ७० ले अनुदान सम्झौता नै गरेका छैनन्। अनुदान सम्झौता गरेका ७८ हजार ५ सय ८० मध्ये ८ सय ६८ ले घर बनाउनै थालेका छैनन्। उनीहरुले घरको जग संरचना तयार गर्न पहिलो किस्ता ५० हजार रुपैयाँ लिइसकेका छन्। सम्झौता चरणमा गरेका त्रुटीका कारण अनुदान सम्झौता गरेका १ सय ९९ ले पहिलो किस्ता पाउनबाट बञ्चित छन्। किस्ता अभावमा उनीहरुले घरको जग खन्न नसकेका हुन्। 

इकाइ प्रमुख गौतम घर बनाउन नसक्ने पीडितसँग फरक–फरक समस्या रहेको बताउँछन्। ‘घर बनाउन नसक्नुमा पीडितसँग विशेष एउटै समस्या छैन,’ उनले भने, ‘पीडितले के–के कारणले घर बनाउन सकेनन् भनेर प्रत्येक वडास्तरमै सर्वे गर्दै छौँ।’ सर्वेपछि मात्रै पीडितका समस्या पहिचान हुने र समाधान निस्कन सक्ने उनको भनाइ छ। 

भूकम्पका कारण जमिन चर्किंदा जग खन्ने थलो नभएका पीडितलाई जग्गा खरिद गर्न प्राधिकरणले भर्खरै अनुदान वितरण थालेको छ। त्यस्ता पीडितले जग्गा किन्न थप २ लाख रुपैयाँ अनुदान पाउँछन्। सिन्धुपाल्चोक सबैभन्दा बढी गुठी समस्या रहेको जिल्ला हो। गुठी समस्याकै कारण घर बनाउन नसकेको पीडित बताउँछन्। तर प्राधिकरणका अधिकारीहरुका अनुसार गुठी जग्गा भोगचलनको निस्सा प्रमाण भए अनुदानको घर बनाउन रोकिँदैन। निस्सा प्रमाण नभए सँधियारको मुचुल्काका आधारमा अनुदान प्राप्त गर्न र घर बनाउन सकिन्छ। ‘यो सन्देश पीडितसम्म पु-याउन नसक्दा पनि समस्या थपिएको छ,’ वरिष्ठ इन्जिनियर रहेका इकाइ प्रमुख गौतम बताउँछन्। 

कामदार अभाव, निर्माण सामग्रीमा भएको महंगी र कालोबजारी, खेतीपातीमा व्यस्त हुनुपर्ने बर्खाको सिजन, वर्षा, बाढी, पहिरोले ग्रामीण सडक अवरुद्ध हुँदा सिर्जित ढुवानी समस्या लगायत कारणले पनि पुनर्निर्माणलाई असर पु¥याइरहेको देखिन्छ। लाभग्राही एकल, असहाय भएका पीडित घर बनाउन नसक्नेको सूचीमा छन्। 

यति हुँदा–हुँदै पनि जिल्लाको पुनर्निर्माणले भने फड्को मारेको देखिन्छ। जिल्लामा हालसम्म ७७ हजार ५ सय १३ घर बनिरहेको ईकाइको तथ्यांक छ। ७६ हजार ३ सय ६० ले दोस्रो किस्ता पाएका छन् भने ४८ हजार ८ सय ८९ ले तस्रो किस्ता हात पारिसकेका छन्। तथ्यांकले सिन्धुपाल्चोकको पुनर्निर्माण अन्तिम चरणमा पुगेको देखिए पनि चुनौती अझै धेरै छन्। 

पछिल्लो समयले प्राधिकरणले छुट र पुनः सर्वेबाट ३ हजार पीडित लाभग्राही सूचीमा थपिएका छन्। उनीहरुलाई जग खन्न पहिलो किस्ता निकासा थालिएको छ। योसमेत जिल्लामा लाभग्राहीको संख्या ८६ हजार ९ सय ७१ पुगेको छ। पहिलो चरण र थपिएका लाभग्राहीसमेत जिल्लामा साढे ९ हजारले घर बनाउँन बाँकी देखिन्छ।

प्रकाशित: २२ भाद्र २०७५ १४:५६ शुक्रबार

भूकम्प पुनर्निर्माण सिन्धुपाल्चोक