समाज

राधाकृष्ण हत्या प्रकरणमा उच्चस्तरीय समितिद्वारा छानविन शुरु

जुम्ला - नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय परिषद् सदस्य राधाकृष्ण बुढ्थापाको हत्या प्रकरण वारे छानविन गर्न उच्च स्तरिय छानविन टोली जुम्ला पुगेको छ। गृहमन्त्रालयका सह सचिव गोपाल प्रसाद अर्यालकोे संयोजकत्वमा ६ सदस्यीय टोलि जुम्ला पुगेको हो। सरकारले भदौ १७ गते छानविन समिती गठन गरेकोमा १८ गतेदेखि काम गर्न निर्देशन गरेको थियो। नेपालंगज देखि जुम्ला आउनको लागि जहाज नपाइएपछि २० गते जुम्ला पुगेको उच्च स्तरिय छानविन समितीले छानविन कार्य शुरु गरेको छ।

समितीले पहिलो चरणमा पुर्पक्षका लागि थुनामा राखिएका खड्गजित रोकाया र एंगल लामासँग वयान लिएको छ। जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी टेकवहादुर बु्ढ्थापाका अनुसार टोलिले घटना स्थलको अवलोकन, पिडित परिवारसंग भेटघाट सकाईसकेको छ। यस्तै परिवारसँगको भेटघाटमा निष्पक्ष छानविनका लागि समितिलार्इ आग्रह गरिएको थियो।

जिल्ला स्थित राजनैतिक दल, नागरिक समाज तथा पत्रकारहरुसँग छलफल गरेर घटनाको वास्तविक अवस्था वुझ्ने काम भईरहेको समितीले जनाएको छ। नयाँ शक्तिका केन्द्रिय परिषद् सदस्य तथा चन्दननाथ नगरपालिका २ का ४३ वर्षीय बुढ्थापाको २० गते चन्दननाथ नगरपालिका ५ को जुगाडखोला नजिकैको खोलामा रहस्यमय ढंगले मृत्यु भएकाे अवस्थामा शव फेला परेको थियो। मृतक बुढ्थापाको टाउको, माथिल्लो र तल्लो शरिरमा धारीलो हतियारको खत देखिएको थियो। घरवाट सदरमुकाम खलंगामा रहेको होटल सनलाईटमा खाजा खान निस्केका बुढ्थापाको शव होटल नजिकैको जुगाड खोलामा मृत अवस्थामा भेटिएकाे थिए।

प्रहरीले होटल सञ्चालक खड्कजीत रोकाया र जुम्लावजार विजयनगर निवासी एंगल लामालाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको जनाएको छ। 

प्रकाशित: २२ भाद्र २०७५ ०९:३१ शुक्रबार

नयाँ_शक्ति_पार्टी राधाकृष्ण_बुढ्थापा