समाज

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौ– चितवन, रुकुम पश्चिम र सिरहामा बिहीबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् । 

चितवन राप्ती नगरपालिका–३ झुरझुरेस्थित महेन्द्र राजमार्गमा ना २ ख ८५३९ नम्बरको ट्याङकरले ग।५ प ८२६० नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार २ जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकहरु बारा जितपुर उपमहानगरपालिका–१६ बस्ने ३८ वर्षीय प्रेमबहादुर मोक्तान र मकवानपुर छतिवन–४ बस्ने ३४ वर्षीय जितबहादुर स्याङतान रहेको रहेको प्रहरीले जनाएको छ। 

यसैगरी रुकुम पश्चिम मुसिकोट नगरपालिका–४ पाना खोलास्थित भित्री सडकमा लु २ त ८७६० नम्बरको ट्याक्टर सडकबाट २० मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टरमा सवार ४ जना घाइते भएकोमा जिल्ला अस्पताल सल्लेमा उपचारका क्रममा सोही नगरपालिका–१ बस्ने २८ वर्षीया धनमाया देबकोटाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते सोही ठाउँकी १४ वर्षीया मुना देवकोटालाई थप उपचारको लागि नेपालगंज पठाइएको छ । ट्याक्टर चालकभने फरार छन्। 

उता सिरहा कर्जन्हा नगरपालिका–३ स्थित बिश्वकर्मा मन्दिर नजिक अन टेष्ट मोटरसाइकलले  स्थानीय ८० वर्षीय हनुमानी महतोलाई ठक्कर दिंदा उनको मृत्यु भएको छ। गम्भीर घाइते अवस्थामा नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु प्रहरीले जनाएको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

 

प्रकाशित: २२ भाद्र २०७५ ०७:३३ शुक्रबार

सवारी_दुर्घटना मृत्यु