समाज

रसुवागढी नाका खुल्याे, सवारी चल्न थाले

रसुवा– चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा मंगलबारदेखि सवारी साधन सञ्चालन सुरु भएको छ। 

नाका जोड्ने धुन्चे रसुवागढी सडक खण्डको मर्मत गरेसँगै नाकामा साना ठुला सवारी साधनको सञ्चालन सुरु भएको हो। बाढी र पहिरोको कारण एक महिनासम्म अवरुद्ध भएको नाका मंगलबारदेखि सञ्चालनमा आएपछि सीमामा व्यापारी तथा व्यवसायीको चाप बढेको छ। 

धुन्चेदेखि रसुवागढीसम्मको ३० किलोमिटर कच्ची सडकको एक स्थानमा पहिरो र तीन स्थानमा बाढीले क्षति गरेको थियो। गत साउन ११ गते बाढीले घट्टेखोलामा रहेको पुलमा क्षति गरेपछि सवारी आवागमनमा रोक लगाइएको थियो। 

सडक सूचारु भएसँगै केही कन्टेनर चीनको केरूङमा गएका छन्। ‘साँझबाट सवारी सञ्चालन भएका कारण आज सवारी सञ्चालन कम भयो’, प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले भने, ‘बुधबार बिहानबाट सवारी सञ्चालनको चाप बढ्छ।’
चीनको केरूङमा करिव डेड सय कन्टेनर सामग्री लोड गरेर बसेका छन्। ‘केरुङमा २० वटा गाडी खाली गाडी छ’, व्यापारी पुरुषोत्तम पौडेलले भने, ‘गाडीको सङ्ख्या कम भएका कारण सामग्री लोड गर्न पाइएको छैन्।’

रेडिमेट सामग्री बोकेका गाडी रसुवागढी पारी चीनतर्फ रोकिएका उनको भनाई छ। सीमा नजिकै रहेको उक्त पुलमा क्षति गरेपछि टिमुरेसम्म भरियालाई सामग्री बोकाउन थालिएको थियो। त्यसको केही समयपछि खोपाङभीर र त्रिशुली खोलाको सडकमा क्षति भएपछि सवारी सञ्चालन रोकिएको थियो। करिब २५ दिनसम्म राजश्व सङ्कलन नहुँदा करोडौँ घाटा हुन पुगेको थियो। 

सडक सूचारु गर्नका लागि डिभिजन सडक कार्यालय, नेपाली सेनाको मैलुङ स्याफ्रुबेँसी निर्माण कार्यदल, हेटौडाबाट आएको नेपाली सेनाको टोली, कालिजंग गण र रसुवागढी जलविद्युत आयोजनाको संयुक्त प्रयासमा बाटो सूचारु गर्न सफल भएको हो। 

बाटो सूचारु गर्नका लागि कालिजंग गणले विशेष भूमिका निर्वाह गरेको थियो। गणले दैनिक रुपमा निरीक्षण गर्ने, सामग्रीको जोहो गर्ने र समन्वय गर्ने कार्य गरेको थियो। यसमा डिभिजन सडक कार्यालयले सामग्री सङ्कलन र जनशक्ति परिचालनमा कार्य गरेको थियो। 

रसुवागढी नाकालाई चीनले २०७४ भदौ १४ गते अन्तर्राष्ट्रिय नाका घोषणा गरिसकेको छ। चीनबाट तयारी कपडा, स्याउ, लेडिज सेण्डल, रबर, प्लाष्टिकका जुत्ता चप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, युपीएस, प्लाष्टिकका सामग्रीहरू आयात हुने गरेको छ। 

नेपालबाट चीनतर्फ धातुको मूर्ति, काठका सामग्री, अम्रिसोको कुचो, बाँसको मुडा, मेहन्दी, दन्तमन्जन, श्रृंगारका सामान, चाउचाउ, पास्ता, जुस, जाम, चकलेट, उनी गलैंचा, कार्पेट, चुइगम, हेयर आयल, हेयर क्रिम लगायतका मुख्य वस्तुहरु निकासी भइरहेको छ। 

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन्। चीनले अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ। 

रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दुरी पार गर्नुपर्छ।

प्रकाशित: १९ भाद्र २०७५ १३:३१ मंगलबार

रसुवागढी_नाका सवारी_सञ्चालन