समाज

जाली चोर्ने दुई पक्राउ

रसुवा – रसुवामा जाली चोरी गर्ने दुई जना पक्राउ परेका छन् । कालिका गाउँपालिका–३ का उज्जवल देवकोटा र वीरबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

चोरीमा संलग्न रमेश अधिकारी फरार रहेका प्रहरी निरीक्षक ओमप्रकाश वाग्लेले बताए । सिम्ले–भोर्ले सडकखण्डका लागि बुनिएका नौ थान जाली र नबुनेका एक रोल तार उनीहरूले चोरी गरेको प्रहरीको आरोप छ।

शुक्रबार राति १ बजे चोरी गरेर सामग्री ल्याउँदै गर्दा गाउँलेले समातेर प्रहरीको जिम्मा लगाएका हुन् । पक्राउ परेका दुवै जनालाई मुद्दा चलाइएको र फरार रहेका अधिकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यसअघि पनि जाली हराएको भन्दै ठेकेदारले प्रहरीमा जाहेरी दिएका थिए । करिब १८ हजार रुपैयाँ बराबरका सामग्री बरामद गरिएको प्रहरी निरिक्षक वाग्लेको भनाइ छ । ‘यसअघि पनि दैनिकजसो जाली हराउने गरेको थियो, अहिलेसम्म करिब चार लाखको जाली हराएको छ’ जाहेरीमा भनिएको छ।

प्रकाशित: १९ भाद्र २०७५ ०२:३३ मंगलबार

जाली_चोरी रसुवा