समाज

बैठकमा ढिलो पुगे पाँच सय जरिवाना

खोटाङ – औपचारिक या अनौपचारिक कार्यक्रमको निर्धारित समयमा उपस्थित नहुने समस्या जो कोहीले देखेभोगेकै हो।

हामीकहाँ घण्टौं ढिलो गरेर भेला, बैठक, छलफल लगायतका कार्यक्रममा पुग्ने चलन छ । तर, खोटाङको साकेला गाउँपालिका–३, खिदिमामा भने विद्युत्सम्बन्धी बैठकमा निर्धारित समयमै नपुगे पाँच सय रुपैयाँ जरिवाना गर्ने नियम बनाइएको छ।

पाँच किलोवाट क्षमताको स्थानीय हावा खोला लघुजलविद्युत् आयोजनाका ४० घर उपभोक्ताले आफैले बनाएको यस नियमलाई पालना गरिरहेको साकेला गाउँपालिका–३, खिदिमाका वडाध्यक्ष मणिकुमार राईले बताए।

हावा खोला लघुजलविद्युत् आयोजना सञ्चालनमा आएको १२ वर्ष नाघिसकेको छ । पारिश्रमिकमा नियुक्त गरिएका अपरेटरले दैनिक साँझ ६ बजे विद्युत् खुला गर्छ र बिहान ६ बजे बन्द गर्छ।

समुदायको सहभागीतामा निर्माण गरिएको विद्युत् आयोजना बिग्रिएर मर्मत गर्नुपर्ने अवस्थामा उपभोक्ताले बेला–बेला आकस्मिक बैठक तथा छलफल गर्नुपर्ने हुन्छ । उक्त बैठकमा एक सेकेन्ड पनि ढिला गरे नियमअनुसार पाँच सय रुपैयाँ जरिवाना लाग्ने स्थानीय बताउँछन्।

प्रकाशित: १९ भाद्र २०७५ ०२:३१ मंगलबार

खोटाङ उदाहरणीय_काम