समाज

उखु किसानकोे २७ करोड रुपैयाँ दसैंअघिनै भुक्तानी दिन निर्देशन

रौतहट–रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले दशैँ, तिहार र छठ पर्वभन्दा पहिले नै उखु किसानले पाउन बाँकी २७ करोड रुपैया भुक्तानी दिन  श्रीराम सुगर मिल्सलाई निर्देशन दिएका छन्।

रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्सले गत आर्थिक वर्षमा किनेको उखुको १५ करोड र त्यसभन्दा अघिल्लो वर्षकोे १२ करोड रुपैया भुक्तानी दिन निर्देशन दिएका हुन्।  
उद्योगको स्थलगत अनुगमन निरीक्षणका क्रममा उद्योगका महाप्रबन्धक पिके झालाई यस्तो निर्देशन दिएका हुन्।महाप्रबन्धक झाले किसानहरुको बाँकी रकम भुक्तानीको लागि प्रयास भइरहेको र यो वर्ष उखु क्रसिङ हुने समयभन्दा पहिले बाँकी बक्यौता सम्पूर्ण भुक्तानी दिने प्रतिबद्धता जनाएका छन्।

गत वर्ष उद्योगमा उखुको अनुपातमा चिनी निकै कम आएको थियो । सामान्यरुपमा एक क्वीन्टल उखुमा नौ किलो चिनी उत्पादन हुनुपर्नेमा गत वर्षको क्रसिङमा निकै कम चिनी परेकोले उद्योगलाई १० करोड रूपैयाँ घाटा लागेकोले भुक्तानीमा समस्या थपिएको महाप्रबन्धक झाको भनाइ छ । तर यस वर्ष रिकभरिसँग सम्बन्धित सबै पाटपूर्जाहरु फेरिइसकेकोले चिनीको उत्पादन राम्रो हुने बताउँदै झाले किसानको बक्यौता तिरेर उद्योगलाई राम्रोसँग संचालन गर्ने बताएका थ्रिए।

प्रजिअ रिजालको निरीक्षण टोलीमा नेपाली सेना, सशस्त्र प्रहरी, जिल्ला प्रहरी कार्यालय, कर कार्यालय , आन्तरिक राजस्व कार्यालय , घरेलु तथा साना उद्योग कार्यालयलगायतका प्रमुखकाे सभागिता थियो । निरीक्षण टोलीले उद्योगको गोदामको पनि निरीक्षण गरेको थियो । गोदाममा अझै पनि करिब ७ करोड रुपैयाँ मूल्य बराबरको चिनी बाँकी रहेको देखिएको छ।

उक्त उद्योगले समयमा किसानलाई भुक्तानी दिन नसक्दा किसानहरुले बेला बेलामा आन्दोलन गर्दै आएका छन्। किसानको उखु किन्ने तर वर्षौसम्म भुक्तानी नदिने गरेको कारण उद्योगले अपेक्षित उखु पाउन सकेको छैन। तीन वर्षदेखि सर्वसाधारण किसानले अन्य जिल्लाको उद्योगलाई उखु बेच्न थालेका छन्। केही महिनामै रौतहटमा अर्को पनि चिनी उद्योग संचालनमा आउने भएकोले गरुडास्थित उद्योगले किसानलाई तत्काल भुक्तानी नदिए उखु पाउन समस्या पर्ने देखिएको छ। 

 

प्रकाशित: १८ भाद्र २०७५ १३:२४ सोमबार

उखु वक्याैता