समाज

चोरी गरेको आरोपमा दुई पक्राउ

रसुवा– रसुवामा जाली चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कालिका गाउँपालिका–३ का उज्जवल देवकोटा र वीरबहादुर तामाङ रहेका छन्। 

चोरीमा संलग्न रहेका रमेश अधिकारी फरार रहेको प्रहरी निरीक्षक ओमप्रकाश वाग्लेले बताए। सिम्ले भोर्ले सडक खण्डको लागि बुनिएका ९ थान जाली र नबुनेको एक रोल तार उनीहरूले चोरी गरेका थिए। 

शुक्रबार राति १ बजेको समयमा चोरी गरेर सामग्री ल्याउँदै गर्दा गाउँलेले समातेर प्रहरीको जिम्मा लगाएका थिए। पक्राउ परेका दुबै जनालाई मुद्दा चलाइएको छ। फरार रहेका अधिकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

यसअघि पनि जाली हराएको भन्दै ठेकेदारले जाहेरी दिएका थिए। पक्राउ परेकाहरुबाट करिब १८ हजार बराबरको सामग्री बरामद गरिएको प्रहरी निरीक्षक वाग्लेले जानकारी दिए। ‘यसअघि पनि दैनिकजसो जाली हराउने गरेको थियो, अहिलेसम्म करिव ४ लाखको जाली हराएको छ’, जाहेरीमा भनिएको छ। 

प्रकाशित: १८ भाद्र २०७५ ०५:४० सोमबार

चोरी रसुवा पक्राउ