समाज

कार्यालय सहयोगीलाई दुई वडा सचिवको काम

खोटाङ – वडा सचिव नहुँदा खोटाङको जन्तेढुंगा गाउँपालिकामा एक जना कार्यालय सहयोगीले दुई वडाको वडासचिवको काम गरिरहेका छन्।

गाउँपालिका कार्यान्वयनमा आएको वर्षदिन बित्दा समेत कर्मचारी व्यवस्थापन नहुँदा जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयका कार्यालय सहयोगी कृष्णबहादुर कट्वालले डम्बर्खुशिवालय र जन्तेढुंगा गाउँपालिका–२ बोपुङको वडासचिवकोरुपमा काम गर्दै आएका छन्।

६ वडा रहेको गाउँपालिका सुरुदेखि नै वडासचिव बिहीन बनेको जन्तेढुंगा गाउँपालिकाका प्रमुख शंकर राईले बताए। सचिव नहुँदा कार्यालय सहयोगीले काम चलाउ वडासचिवको भूमिका पाएका हुन्। वडामा सचिवको व्यवस्था नहुँदा दैनिक कामकाज प्रभावित भइरहेको छ। 

यस्तै, वडामा वडा सचिव नहुँदा गाउँपालिकाका प्रशासन फाँटका नासु बिदुर आचार्यले जन्तेढुंगा गाउँपालिका–३ काहुले र जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङको वडासचिवको काम गरिरहेका छन्। यस्तै, गाउँपालिकाका सव–ओभरसियर भीमबहादुर कार्कीले जन्तेढुंगा गाउँपालिका–१ देबिस्थान र जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको वडासचिवको काम गर्दै आएका छन्।

दोहोरो भूमिका निभाउँदा कार्यालयको सेवा प्रभावकारी हुन नसकेको गाउँपालिकाले जनाएको छ। सबै वडा सचिव अन्यत्र सरुवा भएर गएपछि सिंगो गाउँपालिका सचिव बिहीन बनेको गाउँपालिका प्रमुख राईले बताए। दिप्लुङमा कार्यरत एक मात्र वडा सचिव शम्भु आचार्य पनि सरुवा भएर सोलुखुम्बु गएपछि गाउँपालिका वडासचिव बिहीन बनेको हो। यस्तै खोटेहाङ गाउँपालिकाका ९ वडामध्ये ५ वडा सचिव बिहीन बनेको छ। 

 

प्रकाशित: १७ भाद्र २०७५ १०:१६ आइतबार

दाेहाेराे_काम जन्तेढुंगा_गाउँपालिका वडा_सचिव